काठमाडौं , २०७२ श्रावन ११,
मुटुमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना भएका छोरा पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र आइतबार साँझ नर्भिक अस्पताल पुगेका छन् ।
अचानक मुटुमा समस्या देखिएपछि नर्भिकमा भर्ना गरेर पेस मेकर राखिएका पारसलाई भेट्न ज्ञानेन्द्र आफै खाना लिएर अस्पताल पुगेका हुन् ।
पारसको मुटुको अप्रेशन गरी नर्भिकका चिकित्सक रमेश रावतसहितले पेस मेकर राखेपछि उनी खतरामुक्त भइसकेका छन् । विरामी छोरालाई भेट्न यसअघि आइतबार दिउँसै आमा कोमल नर्भिक पुगिसकेकी थिइन् । उनी अप्रेशनपछि आराम गरिरहेका छोरालाई रुँघेर नर्भिकमै दिनभरी बसिन् ।
पत्नी हिमानी पनि कोमलसँगै पतिलाई भेट्न दिउँसै नर्भिक पुगेकी थिइन् । उनी पनि सासु कोमलसँगै पतिलाई रुँघेर दिनभर नर्भिकमै बसिन् ।
परिवारका सबै सदस्य नर्भिक पुगेपछि राति आठ बजे ज्ञानेन्द्र आफैं कार हाँकेर नर्भिक पुगेका हुन् । यसअघि पारस आइतबार मध्यान्ह १२ बजे छोरा हृदयन्द्रलाई साथमा लिएर आफैं कार हाँकी नर्भिक पुगेका थिए ।नर्भिकका चिकित्सकहरुले स्वास्थ्य जाँच गरेपछि मुटुलाई सामान्य अवस्थामा चल्न दिनका लागि पेस मेकर राख्नुपर्ने जनाएपछि आजै सानो शल्यक्रिया गरी पारसको मुटुमा पेस मेकर राखिएको हो ।तीन वर्ष थाइल्यान्डमा बसेर नेपाल फर्केका पारसलाई पूर्वराज परिवारले पहिलो पटक भेटेका हुन् । यसअघि पारससँग उनका छोराछोरीले मात्र भेट्दै आएका थिए ।
पूर्वराज परिवारले पारस र थाई युवतीबीचको सम्बन्धलाई लिएर शंका जनाएपछि पारसले निर्मल निवासमा समेत प्रवेश पाएका थिएनन् ।
यसअघि थाइल्यान्डमा बस्ने क्रममा पनि पारसलाई हृदयघात भएको थियो । हृदयघातको लामो उपचारपछि मात्रै पारस सन्चो भएका थिए ।
श्रोत : अन्नपुर्ण पोस्ट