ताजा खबर

‘निरपेक्षताका नाममा नेपाललाई खेलौना बनाउने प्रयास’

काठमाडौं , २०७२ श्रावन ११,
भारतीय लोकसभाका सदस्य एवं गोरक्षनाथ पीठाधीश्वर योगी आदित्यनाथ श्रीमहाराजले धर्म निरपेक्षताका नाममा नेपाललाई खेलौना बनाउन खोजिएको बताएका छन् । अन्तर्राष्ट्रिय विश्व हिन्दु महासंघका उपाध्यक्षसमेत रहेका उनले भने, ‘नेपाल कसैको गुलामी स्वीकार्न सक्दैन ।’
विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय एकाइले आइतबार राजधानीमा आयोजना गरेको ‘नेपालको प्रस्तावित संविधान र हिन्दु अधिराज्य नेपाल’ विषयक गोष्ठीमा आदित्यनाथले निरपेक्षताका नाममा नेपाली संस्कृति र राष्ट्रिय अस्तित्वमाथि खेलवाड गर्ने अधिकार कसैलाई पनि नभएको बताए ।
‘हिन्दु दर्शन कमजोर बनाउन खोज्नेलाई किन एकजुट भएर जबाफ दिन सक्दैनौं ? ’ उनले भने, ‘९५ प्रतिशत हिन्दु बाहुल्य मुलुकमा पाँच प्रतिशतले षड्यन्त्र गरिरहेका छन् । विश्वभरका सबै ओमकार परिवारको समर्थन रहेका बेला सम्पूर्ण हिन्दु धर्मावलम्बी एकजुट भएर अघि बढे कसैको तागतले हिन्दु राष्ट्र बनाउन रोक्न सक्नेछैन ।’
गुरु गोरक्षनाथको आशीर्वादले पृथ्वीनारायण शाहले एकीकरण गरेको नेपालमा राजसंस्थाको आवश्यकता रहेको उल्लेख गर्दै उनले व्यक्तिबाट त्रुटि भएकै आधारमा संस्थालाई अवमूल्यन गर्न नहुने पनि बताए । तर मञ्चमै रहेका स्वामी कमलनयनाचार्य र कांग्रेस नेता खुमबहादुर खड्काले राजसंस्थाको पुनस्र्थापनाबारे फरक मत पेस गरे भने राजसंस्था पुनस्र्थापना समितिका अध्यक्ष किशोरी महतोले राजसंस्थाबिना हिन्दु राष्ट्र पुनस्र्थापना हुनै नसक्ने जिकिर गरे ।
योगी आदित्यनाथले युरोपेली युनियनले पनि नेपाली जनताको सज्जनताको लाभ विभिन्न तरहले उठाउन खोजिरहेको दाबी गरे । निरपेक्षता संविधानमा राखेर प्राचीन नेपाली परम्परामाथि प्रहार गर्न खोजेको उनको भनाइ थियो । उनले भने, ‘विश्वको एकमात्र हिन्दु राष्ट्र नेपालको पहिचान कुनै हालतमा समाप्त हुन दिनु हुँदैन । मलेसियामा ६० प्रतिशत मुसलमान हुँदा इस्लामिक स्टेट घोषणा गरिएको छ भने ९० प्रतिशतभन्दा बढी हिन्दु हुँदा नेपाल किन हिन्दु राष्ट्र हुन सक्दैन ?
 ’
नेपाल हिन्दु राष्ट्र नरहे हिन्दु धर्मावलम्बी कहींकतै पनि सुरक्षित नरहने भन्दै उनले थपे, ‘पूरै नेपालको यथार्थ कुरो सबैले बुझेको छ तर किन स्वीकार्न सकिरहेको छैन ? विचार फरक भए पनि एकजुट भएर हिन्दु राष्ट्रका लागि लाग्नोस् । हामी मन, वचन र कर्मले सहयोग गर्छौं ।’
डा. चिन्तामणि योगीले संविधानमा हिन्दु राष्ट्र नेपाल सम्भव भएको दाबी गरे । उनले भने, ‘तर हिन्दु धर्मका नेतृत्वकर्ता अघिअघि र नेताहरू पछिपछि हुनुपर्छ । दुष्ट नेताका कारण विश्वभर हिन्दु राष्ट्रको माग भइरहँदा संविधानमा निरपेक्षता राख्ने दुष्प्रयास भइरहेको छ ।’
कांग्रेस नेता खुमबहादुर खड्काले टाउको फुटाए पनि नेपालमा राजसंस्था नफर्किने चेतावनी दिए । उनले भने, ‘बीपी कोइरालालाई बुझेको भए अहिले यो अवस्था आउने थिएन । यही गतिले हो भने कांग्रेस पनि पतनको बाटोमा लाग्छ र भारतको पनि कल्याण हुनेवाला छैन ।’ धार्मिक स्वतन्त्रताका नाममा जनता अल्मल्याउने काम भइरहेको उनको भनाइ थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोराले कसैको मागबिनै सुनियोजित ढंगबाट रातारात निरपेक्षता घोषणा गरिएको आरोप लगाए ।स्वामी कमलनयनाचार्यले हिन्दु राष्ट्रका लागि काठमाडौं ठप्प पार्न पाँच लाख जनता उतार्ने उदघोष गरे । उनले भने, ‘हिन्दु राष्ट्रका लागि जनमतसंग्रह आवश्यक छैन, ९० प्रतिशतको जनमत साथमै छ । हिन्दु सहिष्णुतामाथि ठूलो अपमान भएकाले आन्दोलन थालेका हौं ।’
नेकपा माओवादीका नेता ध्रुव रूपाखेतीले धर्मको मुख्य अंश राष्ट्रियता भएकाले चार दलले भागबन्डा गर्ने क्रममा राष्ट्र र धर्म बिर्सिएको आरोप लगाए ।
विश्व हिन्दु महासंघका मार्गदर्शक भरतकेशर सिंहले धार्मिक स्वतन्त्रतामा मख्ख पर्न नहुने बताए ।

श्रोत : अन्नपुर्ण पोस्ट

Related posts