
चुकें भने कठालो समात्नुस् : प्रधानन्यायाधीश
काठमाडौं , २०७२ श्रावन ११,
कानुन व्यवसायीहरुले स्वच्छ व्यक्तिलाई न्यायाधीशमा नियुक्ति गर्नु प्रधानन्यायाधीशका लागि प्रमुख चुनौती रहेको बताएका छन् । उच्च चरित्रको व्यक्ति फेला नपरे न्यायाधीश नियुक्ति प्रक्रिया नै रोक्नु वेस हुने उनीहरुको भनाइ छ।
‘भोलिको चुनौती सामना गर्नसक्ने न्यायाधीश नियुक्ति गर्नुपर्ने आवश्यकता छ,’नवनियुक्त प्रधानन्यायाधीश कल्याण श्रेष्ठको स्वागतमा सर्वोच्च अदालत बार एसोसिएसनद्वारा आइतबार आयोजित कार्यक्रममा वरिष्ठ अधिवक्ता हरिहर दाहालले भने, ‘बेलाबेलामा बेञ्च सपिङका कुरा पनि उठ्छन् । वकिलको अनुहार हेरेर वा विचौलियाका कारण पनि होला ।’दाहालले न्यायलाई स्वच्छ बनाउने संयन्त्र बनाएमात्र पनि ठूलो कुरा हुने बताए।
उनले प्रधानन्यायाधीशलाई राम्रो काम गर्ने वातावरण नभए बाहिर सार्वजनिक गर्न पनि सुझाए । उनले भने, ‘राम्रा व्यक्ति न्यायाधीशमा ल्याउन नसके बरु पेन्डिङ रहोस् ।’नेपाल बारले ६ महिनासम्म एकजना न्यायपरिषद सदस्य सिफारिस गर्न नसकेको भन्दै उनले असन्तोष प्रकट गरे ।
अर्का वरिष्ठ अधिवक्ता शम्भु थापाले विगतमा केही प्रधान्यायाधीशको कार्यकाल हेर्दा अदालतको ‘नुनिलोपन’ डग्मगाउन पुगेको बताए । कोही व्यक्ति न्यायाधीशका लागि भन्न आएमा तुरुन्त रोक्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘कोही न्यायाधीश खान्छु भनेर आउँछ भने नदिनुस् । भनेर पनि कोही न्यायाधीश भइन्छ ? ’
थापाले ‘घुस खाने’ चरित्रको व्यक्तिलाई न्यायाधीश नियुक्तिमा चिन्न सक्नुपर्ने बताए। परिषदमा नौ महिनासम्म एकजना सदस्य सिफारिस गर्न नसक्ने बारले न्यायपरिषद संरचना परिवर्तनको माग राख्ने कुरा असुहाउँदो रहेको उनको भनाइ थियो। ‘बार त पारदर्शी हुन सकेन भने के आस गर्ने ?’थापाले भने, ‘यो क्षमा पाउने बिषय पनि होइन ।’
नेपाल बारका अध्यक्ष हरिकृष्ण कार्कीले स्वच्छ र उच्च नैतिक चरित्रमा रहेको योग्य व्यक्ति न्यायाधीशमा चयन गर्न चुनौती रहेको बताए । न्यायाधीश पद किनबेचको बिषय ठान्ने व्यक्तिलाई बेलैमा रोक्न सक्नुपर्ने उनको सुझाव थियो । ‘पुनर्नियुक्ति गर्नु हुन्न भनेर नेताकहाँ धाउने न्यायाधीशका विषयमा पनि सुनिएको छ । पुनर्नियुक्ति भए शुद्धीकरणको सुरुआत हुन्छ,’ कार्कीले भने, ‘अब अस्थायी न्यायधीश कुनै हालतमा राखिनु हुन्न ।’ उनले बारको आगामी बैठकमा परिषद सदस्य सिफारिसको निर्णय हुन नसके अर्कै परिणाम आउने भन्दै अध्यक्ष पदबाटै ‘राजिनामा’ दिने संकेत गरे ।
नेपाल बारका पूर्वमहासचिव रमनकुमार श्रेष्ठले आम मान्छेले नचाहेको व्यक्ति न्यायाधीश नियुक्त भएमा त्यहींबाट विवादको सुरुआत हुने बताए । उनले मुद्दाको पेसीमै विचौलियाको चलखेल हुने भएकाले रोक्न सुझाए । प्रधानन्यायाधीश परिवर्तनसँगै विगतमा विचौलियाको कार्यभार पनि बदलिने गरेको प्रसंग सुनाउँदै श्रेष्ठले भने, ‘तर विचौलिया यतिबेला भने चकमन्न छ ।’वरिष्ठ अधिवक्ता सविता भण्डारीले पद रिक्त हुने भन्दा गलत न्यायाधीश नियुक्ति भएमा न्यायपालिकालाई ठूलो क्षति हुने र फेरि अर्को एक युग नै कुर्नुपर्ने बताइन् ।
प्रधानन्यायाधीश कल्याण श्रेष्ठले आफू जिम्मेवारीबाट चुकेमा कठालो समात्ने हक कानुन व्यवसायीलाई रहेको बताए। ‘मेरो बुताभन्दा बाहिर गएमा मैले सकिनँ भन्ने छु, भन्न आउँदा कायलनामा गर्न आयो नभन्नु’, श्रेष्ठले भने, ‘म चुकें भने कठालो समात्नुस्, तपाईंलाई त्यो हक छ ।’
उनले न्याय सम्पादनमा सहकार्य आवश्यक रहेको बताउँदै न्यायाधीश र बेञ्च अक्षम भए बारमात्र सक्षम रहन नसक्ने पनि बताए । पाँच प्रतिशतमात्र नागरिकको न्यायमा पहुँच रहेको अबस्थामा न्यायाधीश र कानुन व्यवसायीका लागि आत्मसमीक्षा आवश्यक रहेको उनको भनाइ थियो । ‘मुद्दाका पक्ष प्रमुख रहे पनि हामीहरु उनीहरुका नाममा हाली मुहाली गरिरहेका छौं’, उनले भने ।
उनले न्यायपालिकाको स्वतन्त्रतासँगै स्वायत्तता पनि अपरिहार्य रहेको स्पष्ट पारे । न्यायमा भ्रष्टाचार, विचौलिया र सेटिङ जस्ता विकृति भए मिलेर एकएक गर्दै निमिट्यान्न पार्नुपर्ने र बार–बेञ्च दुवैले निगरानी गर्नुपर्ने उनको भनाइ थियो । न्यायाधीशमा असल उम्मेदवार नभेटिएसम्म नियुक्ति नहुने उनले बताए।
श्रेष्ठले संविधानमा मौलिक हक फितलो भएमा त्यहींबाटै संविधानवादमा प्रहार हुने र न्यायपालिका अपांग भएमा मौलिक हक लेखेरमात्र जनतालाई भरोसा दिन नसकिने दाबी पनि गरे । मौलिक हक मुट्ठीभर व्यक्तिले नभई सबै वर्गले उपभोग गर्नसक्ने हुनुपर्ने उनको भनाइ थियो ।
भूकम्पका कारण सर्वोच्चको पाटीमा बास भएका बेला ०.४८ प्रतिशतमात्र बजेट दिनुले मौलिक हक संरक्षण गर्ने कार्य झन् चुनौतीपूर्ण रहेको पनि श्रेष्ठले बताए ।
श्रोत : अन्नपुर्ण पोस्ट