ताजा खबर

लेखनाथ पचभैयामा अन्तर्राष्ट्रिय चिडियाखाना यही साउन १५ गते शिलन्यास हुने

दिननाथ बराल,
लेखनाथ, २०७२  साउन १०,

सात तालको नगरी लेखनाथ नगरपालिकाको पचभैयामा अन्तर्राष्ट्रिय स्तरको चिडियाखाना निर्माण हुने भएको छ । बृहत पोखराको अवधारण अनुसार पोखराको नयाँ पर्यटकीय गन्तव्यको रुपमा लेखनाथको वडा नम्बर ११, १२, र १४ नम्बर वडामा रहेका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक बनकोे १ सय ३४ हेक्टर क्षेत्रमा चिडियाखाना निर्माण गरिने भएको आईतबार लेखनाथमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

पोखरा अम्मरसिंहचोकमा रहेको यूनाइटेड क्लव पोखराको बिषेश पहलमा उक्त चिडियाखाना निमार्ण हुने भएको हो । क्लवका अध्यक्ष एवम पोखरा अन्तर्राष्ट्रिय चिडियाखाना निर्माण समितिका संयोजक हिमालय बख्रेलका अनुसार चिडियाखानाको यही साउन १५ गते शिलयान्स हुने भएको छ । बन तथा भु—संरक्षण मन्त्री महेश आचार्यले एक समारोहका बिच चिडियाखानको शिलन्यास गर्ने कार्यक्रम तय गरीएको उनले बताए ।

पर्यटकीय शहर पोखरामा नयाँ पर्यटकीय गन्तव्यको रुपमा चिडियाखाना स्थापनाको लागि विगत पाँच वर्षदेखि पोखरा महोत्सव गर्दै आएको यूनाइटेड क्वलको पहल र सामुदायिक बन उपभोक्ता समिति, बन कार्यालय, स्थानीय प्रशासन, स्थानीय निकाय, राजनीतिक दलहरु विभिन्न संघ संस्थाको सहयोगमा चिडियाखाना निर्माण कार्यले मुर्त रुप पाएको हो ।

आगामि एक वर्ष भित्र १ सय ३४ हेक्टर क्षेत्रलाई तारजाली लगाएर खुल्ला चिडियाखाना बनाउने लक्ष्य निर्माण समितिले राखेको छ । चिडियाखाना अवलोकनको लागि जालीको डोम निर्माण गरिनेछ भने जनवार, पक्षी खुल्ला छाडिने उहाँले जानकारी दिनुभयो।चिडियाखानामा बन्यजन्तु प्रदर्शन, संरक्षण शिक्षालाइ समावेश गरिनुका साथै भविश्यमा विश्वभरको हावापानीमा पाईने पंक्षी तथा जनावरको कक्ष बनाउने लक्ष्य राखिएको बख्रेले बताए । बख्रेलका अनुसार सामुदायिक बनमा भएका जनवारको संरक्षण गरी अवलोकन गर्न मिल्ने वातावरण बनाएर स्वदेशी हावापानी अनुसारको जीवजन्तुको प्रर्दशनी समेत निर्माण गरिनेछ । बन्यजन्तुलाई उद्धार गर्न र तिनीहरुको स्वास्थ्यलाई ध्यानमा राखी बन्यजन्तुको संरक्षण केन्द्र स्थापना गरी यसलाई सुरक्षित र खुल्ला चिडियाखाना बनाइने उनले जनाए ।

नेपालकै पहिलो खोरमुक्त आधुनिक चिडियाखानामा बाल उद्यान बल्छी हान्ने पोखरी, डुङ्गा शयर गर्नका लागि ताल, जंगल सफरी लगायत अतिरिक्त क्रियाकलापलाई पनि समेटिने भएको वख्रेलले बताए । एक वर्ष भित्र तारजली लगाई चिडियाखाना निर्माण स्थललाई जंगल सफारीको रुपमा प्रयोगमा ल्याउने लक्ष्य लिइएको बख्रेलले दाबी गरे । चिडियाखाना निर्माणमा ११ करोड खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ भने यूनाइटेड क्वलले गर्दै आएको पोखरा महोत्सवबाट बचेको करिव २० लाख रुपैयाले तारजाली लगाउन सुरु गरिने कोषाध्यक्ष दामोदरभक्त थापाले बताए ।

बन्यजन्तु संरक्षण ऐनमा चिडियाखाना निर्माण गर्ने प्रावधान नभएपनि त्यसलाई संसोधनको तयारी सरकारले गरेको र पचभैया सामुदायिक बन उपभोक्ता समितिले सामुदायिक बनमा चिडियाखाना बनाउन लिखित रुपैया कार्यनीति बनाएकोले उक्त स्थानमा चिडियाखाना निर्माण प्रक्रिया अगाडि बढाइएको बख्रेलले बताए ।चिडियाखाना निर्माण समितिको सहसंयोजकमा जिल्ला बन कार्यालय रहेपनि अहिलेसम्म चिडियाखाना निर्माणको स्वीकृत दिने सरकारीे प्रावधान नै छैन । पचभैया सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष मनबहादुर घिमिरेले उक्त बनमा ३ सय ६१ प्रजातिका बनस्पति, १ सय ७५ प्रजातिका जडिबुटि पाइनुका साथै बाघ, मृग, अजिंगर, चरा चुरुङ्गी पाइने गरेको बताए ।

Related posts