ताजा खबर

बार्सिलोनालाई ईपीएलको डर

लन्डन,  २०७२ श्रावण १०,

युरोपेली च्याम्पियन बार्सिलोनाका अध्यक्ष जोसेप मारियाले आफ्ना उत्कृष्ट खेलाडीलाई इङलिस प्रिमियर लिग (ईपीएल) क्लब जानबाट रोक्न संघर्ष गर्नुपर्ने स्वीकारेका छन्। ईपीएलले सन् २०१६–१७ का लागि कीर्तिमान पाँच अर्ब दस करोडको अनुबन्ध गर्ने भएपछि त्यहाँका क्लब अत्यधिक धनी हुनेछन् र यससँगै उनीहरूसामु महँगा खेलाडी किन्ने क्षमता बढ्नेछ।

तर मारियालाई के विश्वास छ भने बार्सिलोना यो कामलाई रोक्न सक्षम छ, कम्तीमा आफ्ना खेलाडीका लागि। ‘हामीले ईपीएलका खेलाडीसँग संघर्ष गर्नुपर्ने सत्य हो। हामी पनि बार्सिलोनामा विश्वकै राम्रा खेलाडी होस् भन्ने चाहन्छौं। त्यसैले यसका लागि ईपीएलका क्लबसँग प्रतिस्पर्धा गर्नेछौं,’ उनले भने। मारियाले आम्दानीको हिसाबमा ईपीएल विश्वकै सर्वाधिक धनी क्लब रहेको पनि स्वीकारे।

‘अहिले ईपीएल फुटबलको स्तरकै आधारमा पनि उत्कृष्ट छ, यसमा कुनै शंका छैन। आम्दानीका आधारमा त यो धेरै अगाडि छ,’ उनले भने। पछिल्लो समय ईपीएलका ठूला खेलाडी, विशेषत: गेराथ बेल र लुइस स्वारेजले स्पेनी क्लब जान तयार भएका थिए। तर अब नयाँ प्रसारणको अधिकारको अनुबन्धपछि ईपीएलका क्लब आर्थिक रूपमा अत्यधिक बलिया हुनेछन्।

‘यो हाम्रा लागि चेतावनी हो। ईपीएलले जसरी टेलिभिजन प्रसारण अधिकार बेचेको छ, त्यो अरूले पनि सिक्न सक्नुपर्छ,’ अध्यक्ष मारियाले थपे, ‘तर हामीलाई के विश्वास छ भने बार्सिलोनालाई आम्दानीको दौडमा अरू क्लबले उछिन्न सक्ने छैन।’ उनले मोटो रकम पाए पनि आफ्ना स्टार खेलाडीलाई कुनै पनि स्थितिमा नबेच्ने पनि दाबी गरे।

स्रोत : कान्तिपुर

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *