ताजा खबर

नेता–कर्मचारीको झगडाको कारण १० करोड फ्रिज

वीरगन्ज , २०७२ श्रावन १०,
आर्थिक वर्ष २०७१/०७२ मा जिल्ला विकास समिति पर्साको १० करोड रुपैयाँ भन्दा बढी रकम फ्रिज भएको छ । राजनीतिक दलका नेताहरूबिचको द्वन्द्व र कर्मचारीको अनियमितताका कारण जिविस पर्साको १० करोड २८ लाख सात सय ९३ रुपैयाँ फ्रिज भएको हो ।
पुँजीगत तर्फ १२ प्रतिशत अर्थात तीन करोड ९५ लाख ८६ हजार आठ सय र चालूतर्फ १४ प्रतिशत अर्थात ६ करोड ७० हजार दुई सय ९३ रुपैयाँ फ्रिज भएको स्थानीय विकास अधिकारी गुरु प्रसाद सुबेदीले बताए । जिविसमार्फत सञ्चालित योजनामध्ये विवादित योजनाका रूपमा रहेको ‘सुनौला हजार दिन’ कार्यक्रमको सबैभन्दा बढी रकम फ्रिज भएको छ ।
सुनौला हजार दिन कार्यक्रमका लागि पर्सामा कुल ६ करोड ३० लाख १९ हजार रकम आएको थियो । त्यसमध्ये चार करोड ६७ लाख ९० हजार पाँच सय ९१ रुपैयाँ खर्च हुन नसक्दा फ्रिज भएको हो । जिल्लाका ११ गाविसमा सुनौला हजार दिन कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रम सञ्चालनको जिम्मा पुर्नजागरण समाज नेपाल नामक गैरसकारी संस्थाले लिएको थियो ।
उक्त कार्यक्रममा व्यापक अनियमितता भएको समाचार प्रकाशित भएपछि जिविस पर्साले कार्यक्रम सञ्चालन भएका गाविसमा स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा २० प्रतिशत रकम मात्र खर्च भएको स्थानीय विकास अधिकारी सुबेदीले बताए । सो कार्यक्रमको बाँकी ८० प्रतिशत रकम फ्रिज भएको उनले बताए ।
‘कार्यक्रमको कार्यान्वयन विधि नै राम्रो भएन, त्यसमाथि सात महिना ढिला गरी पैसाको फुकुवा भयो’, उनले भने, ‘अर्को कुरा कार्यक्रम सञ्चालनको जिम्मा लिएको संस्थाले नै कार्यक्रम के हो ? भन्ने बुझ्नै नसकेको देखियो ।’ यस्तै निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत आएको कुल सात करोड ७० लाख रुपैयाँमध्ये दुई करोड २० लाख रुपैयाँ फ्रिज भएको छ ।
सभासद् र राजनीतिक दलका नेताहरूको गलत अडान र आपसी द्वन्द्वका कारण निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतको दुई करोड भन्दा बढी रकम खर्च हुन नसकेको स्थानीय विकास अधिकारी सुबेदीले बताए । क्षेत्र नम्बर २ र ३ मा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतको सबै रकम खर्च भएको उनले जानकारी दिए ।
तर १, ४ र ५ नम्बर क्षेत्रको रकम भने पुरा खर्च हुननसकेका कारण दुई करोडभन्दा बढी फ्रिज भएको सुबेदीले बताए । ‘यसको सबै दोष सम्बन्धित क्षेत्रकै सभासदहरूमा जान्छ’, उनले भने, ‘उपभोक्ता समितिमार्फत रकम खर्च गर्नुपर्नेमा उहाँहरूले आफ्नै कार्यकर्ताबाट काम गराउन खोज्नु भयो, मैले मानिन, त्यही कारण रकम फ्रिज गयो ।’ केही क्षेत्रमा दलका नेता र सभासद्हरू बीचको आपसी मनमुटावका कारण पनि रकम खर्चमा समस्या देखिएको उनले बताए ।
राष्ट्रिय ग्रामीण यातायात सुदृढिकरण कार्यक्रमको दुई करोड ९९ लाख १६ हजार चार सय रुपैयाँ पनि फ्रिज भएको छ । पुँजीगततर्फ स्थानीय यातायात पूर्वाधार क्षेत्र कार्यक्रमको १८ लाख १७ हजार एक सय ६२, साना सिँचाइ नदी नियन्त्रण तर्फको चार लाख ५७ हजार नौ सय १२, झोलुंगे पुल निर्माण कार्यक्रमको पाँच लाख ६२ हजार, खानेपानी आयोजना तर्फको तीन लाख ८७ हजार, सडक बोर्डतर्फको चार लाख ६४ हजार आठ सय ५६, गाविस अनुदान तर्फको १६ लाख र जिविस अनुदान तर्फको २९ लाख रुपैयाँ फ्रिज भएको छ ।
पर्सामा चालू खर्चतर्फ जिविस अनुदान अन्तर्गतकै ९० लाख, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमतर्फको दुई लाख ९० हजार, खानेपानी आयोजनातर्फको दुई लाख ८१ हजार रुपैयाँ पनि फ्रिज भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पर्सामा विभिन्न योजना र शीर्षकमा पठाएको रकम गत आर्थिक वर्षमा खर्च हुन नसकेकाले दुई करोड भन्दा बढी रकम जिविसले मन्त्रालयमै फिर्ता पठाएको स्थानीय विकास अधिकारी सुबेदीले बताए ।
तराई मधेस मामिलाका जानकार एवं अधिवक्ता वीरेन्द्र यादवले भने बजेट फ्रिज हुनुमा दलका नेता र कर्मचारी नै जिम्मेवार भएको बताए ।

स्रोत : अन्नपुर्ण पोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *