ताजा खबर

जनताका सुझाव समेट्न बालुवाटारमा शीर्ष बैठक

काठमाडौं , २०७२ श्रावन १०, 
संविधानको पहिलो मस्यौदामा जनताले दिएको सुझाव र असन्तुष्ट पक्षका माग एवं मुद्दालाई समेट्नका लागि शनिबारदेखि मुख्य दलहरुबीच शीर्ष तहमा छलफल सुरु  भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बेलुका शीर्ष बैठक बसेको छ। बेलुका छ बजेदेखि सुरु भएको बैठकमा प्रधानमन्त्रीसहित कांग्रेस, एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का शीर्ष नेताहरु सहभागी छन्।
बालुवाटार बैठकमा जनताबाट आएका सुझावलाई कसरी समेट्न सकिन्छ भन्ने बारेमा छलफल भइरहेको छ। खासगरी धर्मनिरपेक्षताको विरुद्धमा व्यापक जनमत आएकोले त्यसलाई मस्यौदामा सम्बोधन गर्नुपर्ने निश्कर्षमा दलहरु पुगेका छन्। तर कस्तो व्यवस्था वा शब्दावली समावेश गर्ने भन्ने बारेमा अझै स्पष्ट सहमति भइसकेको छैन। धर्मनिरपेक्षताको सट्टा धार्मिक स्वतन्‍त्रता,  बहुधार्मिक मुलुक, हिन्दु राज्य जस्ता विभिन्न सुझाव आएका छन्।
त्यसैगरी प्रदेशको संख्या, सिमांकन र नामांकनका विषयमा पनि दलहरुले फेरी सोच्ने भएका छन्। संभव भएर मोटामोटी सिमांकनसहितको संविधान ल्याउनुपर्ने धारणा चार दलले बनाएका छन् । जनताले सिमांकनको टुंगो लगाएर संविधान ल्याउनुपर्ने सुझाव दिएका छन्।
त्यसैगरी मधेस केन्द्रित दल तथा अन्य असन्तुष्ट पक्षहरुले उठाएका माग र मुद्दाका बारेमा पनि दलहरुले छलफल गर्दैछन्। मधेस केन्द्रित दलहरुले सिमांकन र नामांकन टुंग्याएर पूर्ण संघीयतासहितको संविधान ल्याउनुपर्ने माग राख्दै आएका छन्।
शनिबार बिहान संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको कार्यकक्षमा बसेको बैकठमा चारै दलका शीर्ष नेताहरुले शनिबारदेखि नै आफूहरु छलफलमा जुट्ने प्रतिवद्धता व्यक्त गर्दै साउन मसान्तको कार्यतालिका बनाउन सुझाव दिएका थिए।

स्रोत : अन्नपुर्ण पोस्ट

Related posts