ताजा खबर

नीतीशले बरु मलाई चट्काएको भए हुन्थ्यो : मोदी

नयाँदिल्ली, २०७२ श्रावन १०,

बिहारको मुजफ्फरपुरमा राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए) को चुनावी र्‍यालीलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्री नीतीश कुमारलाई बिहारको विकास रोकेको आरोप लगाएका छन् । नीतीशमाथि व्यंग्य कस्दै मोदीले बिहारका जनतामाथि नीतीशले खेलवाड गरेको दाबी गरेका छन् ।

‘भारतीय जनता पार्टीसँग गठबन्धन तोडेर नीतीशले बिहारका जनतासँग खेलवाड गरे,’ मोदीले भने, ‘यहाँको विकासयात्रा रोक्नुमा उनी नै जिम्मेवार छन् ।’ मोदीले भने, ‘यदि नीतीशलाई ममाथि रिस उठेको थियो भने मलाई कोठामा बोलाएर चट्कन लगाएको भए हुन्थ्यो, मेरो आवाज रोकेको भए हुन्थ्यो । तर, उनले हामीसँग गठबन्धन तोडेर बिहारको विकास यात्रा किन रोके ?’ आगामी बिहार विधानसभा निर्वाचनका लागि आफ्नो प्रचार अभियान सुरु गर्दै मोदीले भने, ‘मलाई भरोसा गर्नुहोस् । म यहाँका जनताको चाहना पूरा गर्न आएको हुँ ।’ बिहारलाई सात महिनामा बदलेर देखाइदिने मोदीले वाचा गरेका छन् ।

चुनावी भाषणमा मोदीले बिहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दल (आरजेडी) का प्रमुख लालुप्रसाद यादवको आलोचना गर्न पनि छुटाएनन् । उनले भने, ‘आरजेडीको खास मतलब दैनिक जंगलराजको डर हो ।’ लालु यादवको राजनीतिले बिहारको विकासलाई रोकेको मोदीको आरोप थियो । मोदीले सोही कार्यक्रममा नीतीशका चाहनालाई पनि केन्द्र सरकारले पूरा गर्ने बताए । उनले भने, ‘नीतीश कुमारलाई केन्द्र सरकारबाट धेरै अपेक्षा छ । हामी ती अपेक्षा पूरा गर्न लागिरहेका छौँ ।’ मोदीले केन्द्र सरकार सबै राज्यका आवश्यकता पूरा गर्न लागिरहेको बताएका छन् । त्यसमा पनि बिहारलाई विशेष प्राथमिकतामा राखेको उनले जानकारी दिएका छन् । ‘म वाचा गर्छु, बिहारलाई ५० हजार करोड रुपैयाँभन्दा धेरैको प्याकेज घोषणा गरिनेछ,’ उनले भने । उता, मोदीको भाषण सञ्चारमाध्यममा छाएलगत्तै विपक्षीले त्यसको कडा आलोचना गरेका छन् । मोदी नेतृत्वको सरकारले गरिब जनतालाई भूमि अधिग्रहण विधेयक ल्याएर झन् समस्यामा पारेको कंग्रेसले आरोप लगाएको छ ।

स्रोत  : नया पत्रिका

Related posts