ताजा खबर

तालिबान–अफगानिस्तान वार्ता जुलाई अन्तिममा

२०७२ श्रावन १०,

यसकारण सफल हुन सक्छ

१. अफगानिस्तानमा नेटो सेना छैन
यसअघिका वार्ता प्रयास नेटो सेना अफगानिस्तानमा भएका कारण असफल भएका हुन् भन्ने मान्यता छ, तर यसपटक अफगानिस्तानबाट नेटो सेना बाहिरिसकेको छ, बाँकी रहेका केही अमेरिकी सेना पनि यो वर्षको अन्त्यसम्ममा बाहिरिनेछन् ।
२. अमेरिकी हस्तक्षेप छैन
पहिले वार्ताका लागि अफगानिस्तान सरकारले प्रयास गर्दा तालिबानको जवाफ हुन्थ्यो– हामीलाई अमेरिकासँग वार्ता गर्नुछैन । उनीहरूले पूर्वराष्ट्रपति हमिद कारजाईलाई अमेरिकी दूत मान्थे । तर, वर्तमान राष्ट्रपति असरफ घानीले तालिबानसँगको वार्तामा अमेरिकाको होइन, पाकिस्तानको सहयोग लिइरहेका छन् ।
३. पाकिस्तानी सहयोग छ
पाकिस्तानले अफगानिस्तानमा शान्ति कायम गर्न सके आफ्नो देशमा पनि तालिबानसँग वार्ता गर्न सकिने रणनीति अपनाएको छ । अफगान तालिबान लचक भएको संकेत छ । पाकिस्तानले मध्यस्थता गर्दा यो वार्ता सफल हुने सम्भावना प्रबल छ ।
४. यसअघिको वार्ता सकारात्मक थियो
तालिबान र अफगान सरकारबीच एक चरणको वार्ता सम्पन्न भइसकेको छ । दुवै पक्षले वार्ता सफल भएको सकारात्मक प्रतिक्रिया दिएका छन्, त्यसैले अबका वार्ता सफल हुने विश्लेषण छ ।
सफल भए के हुन्छ ?
अफगान सरकार र तालिबानको वार्ता सफल भएमा अफगानिस्तानमा मात्र होइन, त्यो क्षेत्रमै शान्ति कायम हुन सक्छ, अफगानिस्तानमा राजनीतिक स्थिरता हुन सक्छ । यसले समग्र एसियालाई नै प्रभाव पार्नेछ । त्यति मात्र होइन, पाकिस्तानमा पनि तालिबानसँगको वार्ता प्रयास हुन सक्छ जुन अन्तत: सफल पनि हुन सक्छ । यसले सार्क देशहरूको विकासमा पनि ठूलो सहयोग गर्नेछ ।

असफल हुने सम्भावना पनि छ
१. सरकार–तालिबानबीच तालमेल छैन
वार्ताका लागि प्रयास भए पनि ग्राउन्ड लेभलमा अहिले पनि सरकारी सेना र तालिबान लडाकुबीच बारम्बार झडप भइरहेका छन्, तालिबानले पहिलो चरणको वार्तापछि पनि विभिन्न ठाउँमा आक्रमण गरिरहेको छ, यसले वार्ता बिथोल्न सक्छ ।

२. तालिबानसँग सफल वार्ताको इतिहास छैन
अफगानिस्तानमा मात्र होइन, अन्य देशमा पनि तालिबानसँग वार्ताका प्रयास बारम्बार भएका थिए, उदाहरणका लागि पाकिस्तान नै लिन सकिन्छ । तर, वार्ता चल्दै गर्दा तालिबान समूहबाट हुने चर्का आक्रमणका कारण बारम्बार वार्ता विफल भएको इतिहास छ ।

३. तालिबानमा एक स्वर छैन
तालिबानको एउटा समूह अफगान सरकारसँग वार्ता गरेर अब समस्या अन्त्य गर्ने सोचमा छ भने अर्को समूह वार्ताको विपक्षमा छ । विश्वका अलकायदा, आइएसजस्ता अन्य चरमपन्थी समूहले तालिबान वार्ताको खण्डन गरिरहेका छन्, यसले वार्ता असफल हुन सक्छ ।

४. पाकिस्तानी तालिबानको हस्तक्षेप हुन सक्छ
अफगान तालिबान वार्ताका पक्षमा भए पनि उसको सहयोगी पाकिस्तानी तालिबानले यसको विरोध गर्दै आएको छ, एकैपटक अफगानमा वार्ता हुने र पाकिस्तानमा विरोध हुने कुरा असम्भव प्राय: छ ।
असफल भए के हुन्छ ?
अफगान सरकार र तालिबानको वार्ता असफल भएमा अफगानिस्तानमा मात्र होइन, त्यो क्षेत्रमै हिंसा बढ्न सक्छ, अफगानिस्तानको राजनीतिक अस्थिरताले समग्र एसियालाई नै प्रभाव पार्न सक्छ । त्यो प्रभावबाट नेपाल पनि अछुतो रहन सक्दैन । त्यति मात्र होइन, पाकिस्तानमा पनि तालिबानका आक्रमण थप बढ्न सक्छन् । यस्तो भएमा अफगानिस्तानमा फेरि नेटो सेना सक्रिय हुन सक्नेछ ।

एजेन्सी
काबुल, १० साउन
अफगानिस्तानको उच्च शान्तिपरिषद्का प्रवक्ताले अफगान तालिबानसँगको बहुप्रतीक्षित वार्ता जुलाईको अन्त्यमा सुरु हुन सक्ने बताएका छन् । तर, यसबारे अन्तिम फैसला लिइसकिएको छैन । यसअघि पाकिस्तानमा भएको वार्तामा नै रमजान सकिएपछि वार्ता फेरि सुरु गर्ने सहमति दुवै पक्षबीच भएको थियो ।
शान्तिपरिषद्ले वार्ताको स्थान पनि तोकेको छैन । यसअघि ७ जुलाईमा भएको वार्ता पाकिस्तानको पर्यटकीय सहर मरीमा भएको थियो । अबका वार्ताका विभिन्न चरण पनि पाकिस्तानले नै मध्यस्थता गर्दै छ । अबका वार्तामा पनि यसअघिको जस्तै चिनियाँ र अमेरिकी प्रतिनिधि पनि रहनेछन् ।

शान्तिपरिषद्का प्रवक्ताले अबको चरणमा दुवै पक्षले युद्धविराम गर्ने सहमति हुने बताएका छन् । ‘अब युद्धविराम हुने सम्भावना बढी छ,’ बिबिसीसँगको विशेष वार्तामा ती प्रवक्ताले बताएका हुन् ।
अबको वार्तामा तालिबानको एउटा समूह सुरा पनि समावेश हुन सक्ने प्रवक्ताले आशा व्यक्त गरेका छन् । यसअघिको वार्तामा सुरा समूह समावेश थिएन । तर, उसले पनि त्यो वार्ताको विरोध गरेको थिएन ।

शान्तिपरिषद्ले पनि शनिबारै एक विज्ञप्ति निकाल्दै अबको वार्तामा तालिबानको सुरा समूह पनि सहभागी हुने सम्भावना अत्यधिक भएको बताएको छ । ‘अब तालिबानका सबै समूह वार्तामा बस्नेछन्,’ विज्ञिप्तिमा उल्लेख छ, ‘हामी प्रयास गरिरहेका छौँ । हामीले चाह्यौँ भने यसमा सफल हुने आशा लिएका छौँ ।’

उता, तालिबानका नेता मुल्ला मोहम्मद उमरले पनि यो वार्ताको पक्षमा आफ्नो अभिव्यक्ति दिएका छन् । अफगानिस्तानमा शान्तिका लागि वार्ताको विकल्प नभएको र अहिले आएर राजनीतिक वार्ता देशका लागि आवश्यक भएको उनले बताएका थिए।
रमजानको अवसरमा सार्वजनिक गरिएको उनको भिडियोमा वार्ताको विरोध गरिरहेका अन्य चरमपन्थी समूहको कडा आलोचना गरिएको थियो ।

‘वार्ता नहोस् भन्न चाहनेले अफगानको विकास पनि चाहेका छैनन्,’ भिडियोमा भनिएको छ, ‘धार्मिक नियमअनुसार दुस्मनसँग वार्ता गर्नु ठीक होइन । तर, हामीले राजनीतिक प्रयास गरिरहेका छौँ । यो प्रयासले हाम्रो देशमाथि भएको राजनीतिक हस्तक्षेप अन्त्य गर्नेछ । र, देशमा इस्लामी व्यवस्था लागू गर्न सहयोग पनि पुग्नेछ ।’
यसअघिको जस्तो तालिबानले वार्ताका विषयमा अमेरिकी हस्तक्षेप नभएको स्विकारेको छ । त्यसैले, वार्ता सफल हुने सम्भावना अत्यधिक भएको विश्लेषण छ ।

स्रोत  : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *