ताजा खबर

राजेन्द्र र एलिनालाई उपाधि

काठमाडौं, २०७२ श्रावन १०,

राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको पुरुष एकलतर्फको उपाधि नेपाली सेनाका राजेन्द्र कपालीले जितेका छन् । शनिबार भएको फाइनलमा नेपालको पहिलो नम्बरका दीप साउनलाई ११–९, ११–३, ११–९ र १३–११ को सोझो सेटमा पराजित गर्दै कपालीले उपाधि जितेका हुन् । नेपाल च्याम्पियनसमेत रहेका साउन पुलिसका खेलाडी हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको महिला एकलतर्फको उपाधि भने एलिना महर्जनले जितिन् । एलिनाले आफ्नै बहिनी एरिकालाई १५–१३, ११–६, १२–१०, १०–१२ र ११–७ ले पराजित गर्दै उपाधि पक्का गरेकी हुन् । अन्तिम दिन कपुर शर्माले इन्द्रशेखर खड्कालाई १०–१२, ११–९, ११–६, १३–११ ले पराजित गर्दै भेट्रान्स ४० वर्षमाथिको उपाधि जिते ।

भेट्रान्सअन्तर्गत ५० वर्षभन्दा माथिको प्रतिस्पर्धामा उदयमोहन श्रेष्ठले उपाधि जिते । उनले फाइनलमा जगदीश्वरप्रसाद जोशीलाई ११–८, ११–१३, ११–९ र ११–९ ले पराजित गरे । महिला भेट्रान्समा हिरा नकर्मी विजेता बनिन् । सिमिजु अकिको उपविजेता बनिन् । बहिरातर्फ पुरुष एकलमा सुन्दर कार्कीलाई ११–६ र ११–७ ले पराजित गर्दै राहुल यादव पहिले भए । सोही इभेन्टको महिलातर्फ शारदा थापालाई ११–७ र ११–९ ले पराजित गर्दै संगीता बस्नेत पहिले बनिन् । साइपाल विजयी काठमाडौं/ साइपाल एकेडेमी र श्रीदिवाले प्रथम हिस प्लेअफ गल्र्स बास्केटबल च्याम्पियन्सिपमा शनिबार जित हात पारेका छन् । साइपालले हिम्सलाई ३२–२७ ले पराजित गर्‍यो । साइपालका लागि डेनिसा सिंहले २० स्कोर गरिन् । श्रीदिवाले इनोभेटिभलाई ३२–३१ को साँघुरो अन्तरले पराजित गर्‍यो । श्रीदिवाकी रितु शेर्पाले १६ स्कोर गरिन् ।

स्रोत  : नया पत्रिका

Related posts