स्कटल्यान्ड र नेदरल्यान्ड फाइनलमा

डब्लिन, २०७२  साउन १०,

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी–२० विश्वकप छनोट प्रतियोगिताको उपाधिका लागि स्कटल्यान्ड र नेदरल्यान्ड भिड्ने भएका छन् । शनिबार भएको पहिलो सेमिफाइनलमा हङकङलाई ५ विकेटले पराजित गर्दै स्कटल्यान्ड प्रतियोगिताको उपाधिनजिक पुगेको हो । यस्तै दोस्रो सेमिफाइनलमा आयोजक तथा दुईपटकको साबिक विजेता आयरल्यान्डलाई ५ विकेटले पराजित गर्दै नेदरल्यान्डले स्कटल्यान्डसँगको उपाधि भिडन्त पक्का गरेको हो । डब्लिनमा टस हारी ब्याटिङ गरेको आयरल्यान्डले १९.५ ओभरमा अलआउट हँुदै १२८ रन जोडेको थियो । प्रत्युत्तरमा नेदरल्यान्डले १८.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

नेदरल्यान्डको जितमा बेन कुपरले सर्वाधिक ४३ रनको योगदान दिँदा पिटर बोरेन ३६ रनमा नटआउट रहे । आयरल्यान्डका लागि केभिन ओब्रायनले ३३ तथा एन्डी बलबिर्नीले ३१ रनको योगदान दिए । बलिङतर्फ नेदरल्यान्डका मुद्दसर भुखारी एक्लैले चार विकेट लिएका थिए । आयरल्यान्डका केभिन ओब्रायनले तीन विकेट लिएका थिए । त्यसअघि डब्लिनमै टस हारी ब्याटिङ गरेको हङकङले स्कटल्यान्डबिरुद्ध १९.४ ओभरमा अलआउट हुँदै ११६ रनको योगफल बनाएको थियो ।

प्रत्युत्तरमा स्कटल्यान्डले १२.२ ओभरमै ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । स्कटल्यान्डलाई फाइनलमा पुर्‍याउन ब्याटिङतर्फ विकेटकिपर म्याथ्यु क्रसले सर्वाधिक ३९ रनको योगदान दिए । उनले १५ बलमा ५ चौका तथा २ छक्का प्रहार गरेका थिए । उनीबाहेक ओपनर किल कोइजरले ३३ रन जोड्दा जर्ज हुन्से २५ रनमा नटआउट रहे । कोइजरले १९ बलमा ५ चौका तथा १ छक्का प्रहार गरे । हुन्सेले १९ बलमा ४ चौका प्रहार गरे । स्कटल्यान्डका लागि क्रस र कोइजरबीच दोस्रो विकेटका लागि ५२ रनको महत्त्वपूर्ण साझेदारी बनेको थियो । त्यसबाहेक कप्तान प्रेस्टोन मोम्सनले १० रन जोड्दा जोस दभे ४ रनमा नटआउट रहे । ओपनर कलुम म्याक्लियोड शून्य तथा रिची बेरिङटन ३ रनमा आउट भए । त्यसअघि अलास्डेयर इभान्स, सफियान सरिफ र रोब टेलरले तीन–तीन विकेट लिएपछि हङकङ सस्तैमा समेटिएको थियो । बाँकी एक विकेट जोस दभेले लिएका थिए ।

समान चार ओभर बलिङ गरेका इभान्सले १७, सरिफले २९ तथा टेलरले १७ रन दिएका थिए । हङकङका लागि ऐजाज खानले ३१ रन जोड्नुबाहेक अन्यले गतिलो प्रदर्शन गर्न सकेनन् । उनले २१ बलमा २ छक्का तथा १ चौका प्रहार गरे । त्यसबाहेक मार्क चापमानले २४, इर्फान अहमदले ११ तथा नदिम अहमदले १० रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । निजाकत खान ९, बबर हयात ८, अन्सुमान राथ ५, तनविर अफजल ५, हासिब अम्जाद ५ र ओपनर जेमी एट्किन्सन शून्यमा आउट भए । किन्चित साह ४ रनमा नटआउट रहे । बलिङतर्फ इर्फान अहमदले दुई विकेट लिँदा तनबिर अफजल, हासिब अम्जाद र ऐजाज खानले एक–एक विकेट लिए । अफगानिस्तान पाँचौँ जारी विश्वकप छनोटमा अफगानिस्तानले पाँचौँ स्थान हात पारेको छ । शनिबार नै भएको पाँचौँ स्थानको प्लेअफमा अफगानिस्तानले ओमनलाई ५ विकेटले पराजित गर्‍यो । डब्लिनमै टस हारी ब्याटिङ गरेको ओमनले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १२७ रनको योगफल खडा गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानले १८.५ ओभरमा ५ विकेट गुमाउँदै जित भेट्टायो । अफगानिस्तानका लागि नजिबुल्लाह जद्रानले सर्वाधिक ४४ रनको योगदान दिँदा समिउल्लाह सेन्वारी ४० रनमा नटआउट रहे । जद्रानले ३२ बलमा ४ चौका तथा २ छक्का प्रहार गरेका थिए । सेन्वारीले ४१ बलमा ३ चौका तथा १ छक्का प्रहार गरे । त्यसबाहेक मोहम्मद नाबीले २७ रनको योगदान दिए । ओमनका लागि भने खबार अलीले २१ रन जोड्नुबाहेक अन्यले गतिलो प्रदर्शन गर्न सकेनन् । जिसन सिद्दिकी र जतिन्दर सिंह १८–१८ रनमा आउट भए । बलिङतर्फ अफगानिस्तानका दउलत जद्रान, मिरवेस असरफ र अफ्ताव अलामले दुई–दुई विकेट लिए । यस्तै ओमनका लागि राजेशकुमार रानपुरा र मुनिस अन्सारीले दुई–दुई विकेट लिएका थिए ।

स्रोत: नया पत्रिका

Related posts