
मातृका दाहाल,
काठमाडौं, २०७२ साउन १०,
प्रहरी प्रधान कार्यालयले रिक्त जवान÷सिपाही पदका लागि खोलेको भर्नाका लागि ८० गुणाभन्दा बढीले दर्खास्त दिएका छन् । प्रहरीको मानव स्रोत विकास विभागले असार तेस्रो साता महानगरीय प्रहरी कार्यालय र ५ विकास क्षेत्रअन्तर्गतका तालिम केन्द्रबाट ३४२ जवानका लागि भर्ना आवेदन खुला गरेको थियो ।
प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) कमलसिंह बमले मागभन्दा २७ हजार बढीले आवेदन दिएको बताए । आवेदन दिनेमा २२ हजार ९६४ पुरुष र ४४०४ महिला छन् । मागको तुलनामा यति धेरै युवायुवतीले आवेदन दिनुले मुलुकमा बेरोजगारीको स्थिति कति डरलाग्दो स्थिति छ भन्ने स्पष्ट हुन्छ । प्रहरीमा अहिले ६७ हजार ४१६ को दरबन्दी छ ।
खुला तथा आरक्षण कोटाअन्तर्गत प्रधान कार्यालयले पूर्वको विराटनगर, मध्यमाञ्चलको भरतपुर, पश्चिमाञ्चलको बुटवल, मध्यपश्चिममाञ्चलको नेपालगन्ज, सुदूरपश्चिमाञ्चलको दिपायल र उपत्यकामा महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट दर्खास्त आवेदन खुला गरेको थियो ।
विगत वर्षहरूमा आवेदन खुला गर्दा अहिले जस्तो चाप नरहेको उनको भनाइ छ । “८०÷९० गुणा बढीले आवेदन दिएको त पहिलो हो,” प्रवक्ता बमले भने, “यसका पछाडि सामाजिक सुरक्षाको ग्यारेन्टी, राष्ट्रप्रति सेवाभाव र बेरोजगारी मुख्य कारण हुन सक्छन् ।” २ वर्षअघि २८५३ जनामा आवेदन खुला गरिएकोमा ३७ हजारभन्दा बढीले दरखास्त दिएका थिए ।
आवेदन दिएका उम्मेदवारलाई कसैको प्रलोभन तथा भनसुनमा नलाग्न पनि बमले अपिल गरे । प्रहरीमा जागिर लगाइदिने भन्दै दलालहरूले आवेदक तथा परिवारबाट मोटो रकम असुल्ने गरेको गुनासो छ । शक्तिकेन्द्रसम्म पहुँच भएका कतिपय दलालहरू जागरि लगाइदिने भन्दै रकम असुली गरेको अभियोगमा पक्राउसमेत पर्दै आएका छन् ।
केही महिनाअघि १५३ निरीक्षक (इन्स्पेक्टर)का लागि ४ हजारभन्दा बढीले दर्खास्त दिएका थिए । १८४ सहायक निरीक्षकका लागि आवेदन खुला गरिएकोमा साउन ४ सम्म करिब ५ हजारको दर्खास्त परेको छ । ०७० असारमा १३८ पदका लागि दरखास्त आह्वान गर्दा ३३१४ आवेदन परेका थिए । सोही बेला प्रहरी सहायक निरीक्षकमा १०६० दरबन्दीका लागि २१ हजार ३९५ ले आवेदन दिएका थिए । त्यतिवेला जवान पदमा ६१ सयको आवेदन खुला गरिएकोमा ३० हजार २९४ को आवेदन परेको थियो ।
मान, सम्मान र प्रतिष्ठाका लागि पनि युवायुवतीमा प्रहरी सेवाप्रति आकर्षण बढेको प्रहरी बुझाइ छ । संयुक्त राष्ट्रसंघीय शान्ति मिसन, तलब–भत्ता, नियमित सेवा–सुविधासँगै प्रहरी कल्याणकोषबाट पाइने सुविधा पनि आकर्षण हुन् । अझ शान्ति मिसन प्रहरी प्रवेशपछिको सबैभन्दा आकर्षष क्षेत्र हो ।
फर्म पुलिस युनिटअन्तर्गत १ पटक मिसनमा सहभागी भए प्रतिव्यक्ति १ वर्षमा देशभित्रको तलब–भत्ताबाहेक १५ लाख रुपैयाँसम्म थप रकम आर्जन हुन्छ । त्यस्तै, अनपोल (संयुक्त राष्ट्रसंघीय पुलिस)मा सहभागी हुनेले १ वर्षमा ४० देखि ५० लाख रुपैयाँसम्म भिœयाउँछन् । सीप, दक्षता र अंग्रेजी भाषा राम्रो हुने कर्मचारीका लागि अनपोल सबैभन्दा राम्रो र आकर्षक मानिन्छ ।
जवान पदका लागि शैक्षिक योग्यता साधारण लेखपढ (८ कक्षा) सम्म भए पुग्ने प्रावधान छ । तर, जवान पदमा आवेदन दिएका थुप्रै उम्मेदवार साधारण लेखपढदेखि स्नातकोत्तर अध्ययनरतसम्मका छन् । प्रवक्ता बमका अनुसार पछिल्ला वर्ष प्रहरी सेवा प्रवेश गर्ने धेरैजसो जवानको शैक्षिक योग्यता उच्च देखिएको छ ।
स्रोत : कारोबार