ताजा खबर

असन्तुष्टलाई पनि समेटेर साउनमै संविधान : प्रधानमन्त्री

काठमाडौं, २०७२  साउन १०,

प्रधानमन्त्री सुशील कोइरालाले असन्तुष्ट रहेका दललाई समेट्दै साउन मसान्तसम्म संविधान जारी हुने बताएका छन् । सकेसम्म सीमांकनसमेत टुंगो लगाएर संविधान जारी गर्ने प्रयत्न गर्ने पनि उनले प्रस्ट्याए । रिपोर्टर्स क्लब नेपालको पत्रकार टोलीसँगको भेटमा शनिबार प्रधानमन्त्री कोइरालाले सीमांकनसमेत टुंग्याएर संविधान जारी गर्ने तयारी भइरहेको बताएका हुन् ।

‘सीमांकन पनि अहिले नै होस् भन्ने पक्षमा हामी प्रयत्नशील छौँ । हिजो चार दलको बैठकमा पनि छलफल भएको छ । मोहन वैद्यजी र मधेसी मोर्चाका साथीहरूसँग पनि कुरा भइरहेको छ । उहाँहरूको मागलाई कति समेट्न सक्छौँ, त्यसमा हामी छलफल गरिरहेका छौँ,’ कोइरालाले भने, ‘सकेसम्म यही महिनाको अन्तिमसम्म संविधान ल्याउने तयारी भइरहेको छ । दुई–चार दिन ढिला होला, तर अब संविधान कुनै शक्तिले चाहेर पनि रोक्न सक्दैन ।’ उनले मुस्लिम, दलित, महिला, आदिवासी जनजाति, पिछडिएको वर्ग, मधेसीको अधिकार समेटेरै संविधान जारी गर्ने बताए । सबैका भावना समेटिँदैनन् भन्ने हल्लाको पछि नलाग्न पनि उनले आग्रह गरे । प्रधानमन्त्रीले संविधानको मस्यौदामा जनताले दिएको राय–सुझाबलाई समेट्ने विषयमा सबै दल सकारात्मक भएको जानकारी दिँदै शुक्रबार चार दलको बैठकमा यस विषयमा छलफल भएको बताए ।

‘जनताले छोटो समयमा प्रभावकारी सुझाब दिएर राम्रो काम गरेका छन्,’ कोइरालाले भने, ‘यो लोकतान्त्रिक अभ्यास हो ।’ स्वतन्त्र न्यायपालिका, धार्मिक स्वतन्त्रता, प्रेसको स्वतन्त्रता, वाक तथा अभिव्यक्तिको स्वतन्त्रता, हिँडडुल गर्ने स्वतन्त्रता सबैले स्विकारेको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्रीले धार्मिक स्वतन्त्रताको विषयमा राय–सुझाबमा व्यापक सुझाब आएकाले त्यसमा छिट्टै निर्णय लिइने प्रस्ट्याए । संविधानसभाबाट संविधान ल्याउने आफूहरूको पहिलो अभ्यास भएकाले कतिपय कुराहरूमा कमिकमजोरी हुन सक्ने भन्दै त्यसलाई पनि सुधारेर जनताको चाहनाअनुसारको लोकतान्त्रिक संविधान ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

विश्वमा प्रजातन्त्रको विभिन्न किसिमको व्याख्या भएजस्तै बहुलवादको पनि विभिन्न ढंगले व्याख्या हुने गरेको उल्लेख गर्दै उनले लोकतन्त्र भनेकै बहुलवाद भएकाले नेपालमा बहुदलीय प्रजातन्त्र नै बहुलवादको रूपमा रहेको व्याख्या गरे । उनले प्रेस स्वतन्त्रता आफैँ पूर्ण स्वतन्त्रता हुने भन्दै प्रेसको अधिकार कुण्ठित भए पत्रकारहरूसँगै कांग्रेस पनि आन्दोलनमा उत्रने स्पष्ट पारे ।

स्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *