एजेन्सी लन्डन, २०७२ साउन ९,
टेनिस क्षेत्रकै गोल्डेन जोडी मानिने मारिया सारापोभा र जिर्गाेर डिमिट्रोभबीचको सम्बन्ध टुटेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार सारापोभा र डिमिट्रोभले शुक्रबार अलग हुने निर्णय लिएका हुन् । सन् २०१३ देखि उनीहरूबीच सम्बन्ध विस्तार भएको थियो । सारापोभा र डिमिट्रोभले सन् २०१५ को अन्त्यसम्ममा बिहे गर्ने योजना बनाएका थिए । टेनिस जगतमा सारापोभा र डिमिट्रोभले आ–आफ्नै स्थान बनाएका छन् । महिला एटिपी बरियतामा सारापोभा दोस्रो स्थानमा छिन् ।
डिमिट्रोभ बुल्गेरियन टेनिसकै नम्बर एक खेलाडी हुन् । बुल्गेरियन टेनिसमा डिमिट्रोभ सर्वाधिक सफल खेलाडी मानिन्छन् । पुरुष एटिपी बरियतामा डिमिट्रोभ १६औँ स्थानमा छन् । यस सिजनको विम्बल्डन टेनिसको सेमिफाइनलमा सेरेना विलियम्ससँग पराजित भएपछि सारापोभा र डमिट्रोभबीचको सम्बन्ध चिसिएको बिसिसीले जनाएको छ ।
सेरेना डिमिट्रोभकै पूर्वप्रेमिका हुन् । सारापोभाले निजी तथा टेनिस जीवन सुधार्नका लागि डिमिट्रोभसँग अलग रहने निर्णय गरेको बताइन् । ‘हामीबीचको सम्बन्ध यहाँसम्म मात्र हो, दुवै आ–आफ्नो निजी जीवनमा व्यस्त रहन्छौँ,’ रुसी खेलाडी सारापोभाले भनिन्, ‘म आफ्नो टेनिस करिअरलाई एक उचाइ दिन चाहन्छु ।’ यता २४ वर्षीय डिमिट्रोभले सारापोभासँग छुट्टिँदा दु:ख लागेको बताए । ‘अचानक हामीबीचको सम्बन्ध टुट्यो र म निकै दु:खी छु,’ डिमिट्रोभले भने, ‘आशा गर्छु, मेरी पूर्वप्रेमिका सारापोभाको नयाँ जीवन सुखद रहोस् ।’ सारापोभासँग बिताएका हरेक क्षण स्मरणमा रहने उनले बताए । ‘हामीले केही वर्ष रमाइलो गर्यौँ, ती दिन हरपल याद आइरहनेछ,’ डिमिट्रोभले भने ।
यता सारापोभाले पनि पछिल्लो दुई वर्ष अत्यन्तै मिल्ने साथीका रूपमा डिमिट्रोभलाई पाएको बताइन् । ‘मेरो जीवनमा डिमिट्रोभ नै मिल्ने साथीका रूपमा रहनेछन्, उनीसँग राम्रो दिन बिताएँ,’ सारापोभाले भनिन्, ‘आशा गरौँ हामी दुवैका नयाँ जीवन सफल होस् ।’
स्रोत : नया पत्रिका