ताजा खबर

ओमन पहिलोपटक विश्वकपमा

एजेन्सी डब्लिन, २०७२  साउन ९,

ऐतिहासिक फड्को मार्दै ओमनले पहिलोपटक आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान पक्का गरेको छ । डब्लिनमा बिहीबार भएको चौथो प्लेअफमा नामिबियालाई पाँच विकेटले स्तब्ध पार्दै ओमनले अर्को वर्ष भारतमा हुने विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो । एसोसिएट राष्ट्रबाट ओमन छैटौँ टोलीका रूपमा विश्वकपमा छनोट भएको हो । यसअघि आयोजकद्वय आयरल्यान्ड र स्कटल्यान्ड समूह विजेता हुँदै विश्वकपमा छनोट भएका थिए ।

प्लेअफबाट हङकङ, अफगानिस्तान र नेदरल्यान्डले पनि विश्वकपका लागि टिकट कटाए । एसियाबाट एसोसिएट राष्ट्रको प्रतिनिधित्व गर्दै ओमन, हङकङ र अफगानिस्तानले विश्वकपमा प्रतिस्पर्धा गर्नेछन् । यसपटक कुनै पनि अफ्रिकन एसोसिएट टोलीले विश्वकपमा स्थान बनाउन सकेनन् । समूह बीमा केन्या पाँचौँ स्थानमा रहँदा प्लेअफमा समेत छनोट भएन । ओमनको खेलसँगै प्लेअफका सबै खेल समाप्त भएका छन् । अब प्रतियोगिताको सेमिफाइनलमा हङकङले स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ । आयरल्यान्डले नेदरल्यान्डको सामना गर्नेछ । आयरल्यान्ड छनोट प्रतियोगिताकै साबिक दुईपटकको विजेता हो ।

स्कटल्यान्डको मालाहिडे मैदानमा ओमन र नामिबियामध्ये एक टोलीले मात्र विश्वकपमा स्थान बनाउने समीकरण थियो । पहिलो ब्याटिङ गरेको नामिबियाले २० ओभरमा नौ विकेटको क्षतिमा १४८ रनको दरिलो योगफल खडा गरेको थियो । ओमनले १९.१ बलमै पाँच विकेट गुमाउँदै १५० रन जोड्दै ऐतिहासिक सफलता प्राप्त गर्‍यो । ओमनले अब टी–२० विश्वकप तयारीका लागि आइसिसीबाट २ लाख ५० हजार डलर प्राप्त गर्नेछ । आइसिसीले एसोसिएट कोटाबाट छनोट भएका टोलीलाई तयारीका लागि २ लाख ५० हजार डलर छुट्याएको छ । आइसिसीको विश्व डिभिजन लिग–५ मा रहेको ओमनलाई विश्वकपमा पुर्‍याउन जिसन अहमदले सर्वाधिक ५१ रनको योगदान दिए । उनले ३२ बलमा ६ चौका र दुई छक्का प्रहार गरेका थिए । तेस्रो क्रमका ब्याट्सम्यान जतिन्दर सिंहले ३१ बलमा एक चौकाको सहयोगमा ३३ रन बनाए ।

ओमनका कप्तान सुल्तान अहमदले टी–२० विश्वकपमा खेल्न पाउनुलाई ऐतिहासिक सफलताका रूपमा प्रतिक्रिया दिएका छन् । ‘हामी विश्वकपमा पुगेका छौँ, ओमनको क्रिकेट र जनताका लागि यो निकै महत्त्वपूर्ण सफलता हो,’ सुल्तानले भने, ‘छनोट प्रतियोगितामा हामीले कमजोर सुरुवात गरेका थियौँ, तर यसको अन्त्य उत्कृष्ट रह्यो ।’ क्यानडालाई हराएपछि ओमनले कुनै पनि सहभागी टोलीलाई हराउन सक्ने आत्मविश्वास बढेको सुल्तानले जनाए । ‘जब हामीले क्यानडाले खडा गरेको विशाल योगफल सफलतापूर्वक पछ्याएका थियौँ, त्यसपछि हामीभित्र कुनै पनि टोलीलाई हराउन सक्छौँ भन्ने आत्मविश्वास जागृत भयो,’ सुल्तानले भने, ‘अब हामी भारतमा पनि उत्कृष्ट नतिजा निकाल्छौँ ।’ जतिन्दर र अहमदले चौथो विकेटका लागि ६२ रनको साझेदारी गर्दै ओमनको जित आधार खडा गरेका थिए ।

उनीहरूले ओमनलाई ६७–३ बाट १२९–४ को बलियो स्थितिमा पुर्‍याए । यसअघि ब्याटिङ गरेको नामिबियाका लागि स्टेफन बार्डले ६२ रनको उत्कृष्ट योगदान दिएका थिए । उनले ५२ बलमा चार चौका र तीन छक्का प्रहार गरे । यसबाहेक रायमन्ड भानले २३ बलमा ३४ रन जोडे । उनले २३ बलमा चार चौका र एक छक्का प्रहार गरेका थिए ।

स्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *