
एजेन्सी इस्लामावाद, २०७२ साउन ९,
पाकिस्तानको राष्ट्रिय विपत् प्रबन्धन एजेन्सीका अधिकारीले केही दिनयता परेको भारी वर्षाका कारण एक दर्जनभन्दा धेरैको मृत्यु भइसकेको जनाएको छ । अधिकारीहरूका अनुसार बाढीका कारण तीन लाखभन्दा धेरै प्रभावित भएका छन् । अधिकारीहरूले खैबर पख्तुनख्वा प्रान्तको प्रभावित जिल्ला चतरालका कैयौँ क्षेत्रमा बिहीबारदेखि सम्पर्क नभएको बताएका छन् । पाकिस्तानको जल तथा मौसम विभागले थप केही दिन ती क्षेत्रमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।
राष्ट्रिय विपत् व्यवस्थापनका अधिकारीले चतरालका विभिन्न क्षेत्रमा सम्पर्क हुन नसके त्यहाँको स्थिति थप समस्याजनक हुन सक्ने बताएका छन् । उनीहरूले मृतकको संख्या बढ्न सक्ने अनुमान पनि गरेका छन् । संस्थाले पन्जाबमा पनि बाढीका कारण ३ सय २० गाउँ र करिब ७३ हजार मानिस प्रभावित भएको जनाएको छ । कराँचीमा पनि बाढीको समस्या देखिन सक्ने भन्दै सरकारले नागरिकलाई सुरक्षित रहन अनुरोध गरेको छ ।
स्रोत : नया पत्रिका