
वासिंटन, २०७२ श्रावन ९,
अमेरिकी विदेशमन्त्री जोन केरीले इरानसँग भएको परमाणु सम्झौताको आलोचना गर्न रिपब्लिकनप्रति कडा आक्रोश व्यक्त गरेका छन् । उनले रिपब्लिकन सांसदहरूले कुनै तर्कविना यसको आलोचना गरेको बताएका छन् । ‘योभन्दा राम्रो सम्झौता गर्नु भनेको कोरा कल्पनाबाहेक केही होइन,’ उनले भने, ‘आलोचकहरूले कुनै आधारविना यस्तो प्रतिक्रिया दिएका छन् जो सम्भव नै छैन ।’ वासिंटनमा सांसद समितिको एक बैठकमा जोन केरीले विश्वका शक्तिशाली ६ देशले इरानको परमाणु हतियार बनाउने क्षमता नष्ट गरेको दाबी गरेका छन् ।
उनले यसलाई सबैभन्दा ठूलो उपलब्धि भएको बताएका छन् । तर, अमेरिकी सांसद तथा रिपब्लिकन नेता बब कोर्करले अमेरिका तथा उसका सहयोगीले सम्झौता गरेर विश्वमा झन् समस्या निम्त्याएको आरोप लगाएका छन् । ‘सबै देश इरानसामु झुकेका छन् । यो विश्वमाथि गरिएको एउटा लुट हो,’ उनले आरोप लगाएका छन्, ‘इरान सम्झौता सम्पन्न हुनु विश्वकै लागि दुर्भाग्य हो ।’
अमेरिकी संसद्मा रिपब्लिकनको बहुमत भएकाले यो सम्झौता अमेरिकामा पारित हुने सम्भावना कम छ । तर, राष्ट्रपति ओबामाले यसअघि नै यस विषयमा आफ्नो भिटो अधिकार प्रयोग गर्ने बताएका छन् । इरानले आफ्ना परमाणु कार्यक्रम अन्त्य गर्ने सर्तमा पश्चिमा देशले उसमाथि लगाएका प्रतिबन्ध हटाउने सम्झौता गरेका थिए । यो सम्झौताका कारण इरानको अर्थतन्त्र बलियो हुने र उसले थप परमाणु कार्यक्रमलाई निरन्तरता दिन पाउने आलोचकहरूले दाबी गरेका छन् ।
स्रोत : नया पत्रिका