
वासिंटन, २०७२ श्रावन ९,
राष्ट्रपति बाराक ओबमाले अमेरिकामा बन्दुकमाथि नियन्त्रण गर्न नसकेकामा अफसोस मानेका छन् । बिबिसीसँगको विशेष अन्तर्वार्तामा ओबामाले अमेरिकामा अहिले पनि मानिसहरूको अन्धाधुन्ध गोली प्रहारबाट हत्या भइरहेको र सरकारले त्यसका लागि ठोस कानुन ल्याउन नसकेको भन्दै अफसोस मानेका हुन् । ‘अमेरिका एक मात्र विकसित देश हो जहाँ अहिले पनि गोलाबारीमा मानिसहरू मारिएका छन्, तर सरकारले केही गर्न सकेको छैन,’ ओबामाले भने, ‘बन्दुक नियन्त्रणका लािग पर्याप्त कानुन ल्याउन नसकेको स्वीकार गर्छु । यसमा मलाई पछुतो लागेको छ ।’
ओबामाले ११ सेप्टेम्बरको हमलापछि अमेरिकामा चरमपन्थी आक्रमण घटेको भए पनि अन्धाधुन्ध गोली प्रहार कैयौँ गुणा बढेको बताएका छन् । अमेरिकाको स्यान्डी हुक स्कुलमा सन् २०१२ मा भएको अन्धाधुन्ध गोली प्रहारपछि ओबामाले बन्दुकमाथि नियन्त्रण गर्न कडा कानुन ल्याउने प्रतिबद्धता गरेका थिए । उनको प्रतिबद्धताअनुसार अमेरिकी संसद्मा यस विषयमा विधेयक पनि प्रस्तुत भएको थियो । तर, संसद्ले विधेयक पारित गरेन । उनले यो मुद्दाको कुनै समाधान निकाल्न नसकेकामा ठूलो पीडा महसुस भइरहेको पनि बताएका छन् । ‘अब यो कार्यकालको १८ महिना बचेको छ,’ उनले भने, ‘यी १८ महिनामा पनि म यस विषयमा गम्भीरताका लागिरहनेछु । यो कानुन ल्याउन सके मलाई सफलता मिलेको महसुस हुने थियो ।’ ओबामाले बेलायतले युरोपियन युनियनको सदस्यताबारे के निर्णय लिने भन्ने विषयमा पनि आफ्नो धारणा राखेका छन् । उनले विश्वमा आफ्नो प्रभाव कायम राख्न बेलायतले युरोपियन युनियनको सदस्यतामा कायम रहनुपर्ने बताएका छन् ।
बेलायती सरकारले सन् २०१७ मा यही विषयमा जनमतसंग्रह गर्ने भएको छ । जनमतसंग्रहले युरोपियन युनियनको सदस्यता रहने/नरहने निक्र्योल गर्नेछ । बिबिसीका नर्थ अमेरिका इडिटर जोन सोपेललाई दिएको अन्तर्वार्तामा बाराक ओबामाले भनेका छन्, ‘युरोपेली युनियनले विश्वलाई सुरक्षित तथा सम्पन्न बनाएको छ ।’ उनले बेलायत अमेरिकाको सबैभन्दा राम्रो साझेदार भएको भन्दै प्रधानमन्त्री डेभिड क्यामरुनको सराहना पनि गरेका छन् ।
स्रोत: नया पत्रिका