ताजा खबर

मुलुकभर ६० प्रतिशत मात्रै रोपाइँ

सिन्धुली, २०७२ श्रावन ९, 
पर्याप्त पानी नपर्दा साउनको पहिलो साता तितिसक्दा पनि देशभरको ४० प्रतिशत खेत बाँझै छ। मुलुकभरिको कुल धानखेतीयोग्य जमिनमध्ये हालसम्म ६० प्रतिशत खेतमा रोपाइँ भएको छ।
धानखेती हुने ४० प्रतिशत जमिन बाँझै रहेको कृषि विकास मन्त्रालयले जनाएको छ। गत वर्षको तुलनामा यो तीन प्रतिशतले कम हो । गत वर्ष साउनको पहिलो सातासम्म देशभर ६३ प्रतिशत रोपाइँ सकिएको थियो।
नेपालको कुल धानखेतीयोग्य जमिनमध्ये हालसम्म आठ लाख ५९ हजार आठ सय ९५ हेक्टर जमिनमा मात्र रोपाइँ सकिएको कृषि विकास मन्त्रलायको तथ्यांक महाशाखाका वरिष्ठ तथ्यांकशास्त्री हेमराज रेग्मीले बताए। नेपालमा १४ लाख २० जहार एक सय ९६ हेक्टर जमिनमा धानखेती गरिँदै आएको छ।
समयमा पानी नपर्दा धान उत्पादनको भण्डारका रूपमा रहेको तराईका महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सप्तरी, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवनलगायतका जिल्लामा १५ देखि ६० प्रतिशतमात्र रोपाइँ सकिएको वरिष्ठ तथ्यांकशास्त्री रेग्मीले बताए। ‘काठमाडौं उपत्यका तथा हिमाली क्षेत्रसहित गरी साउनको पहिलो साताभित्रमा जम्मा ६० प्रतिशतमात्र धान रोपाइँ सकिएको छ’, रेग्मीले भने, ‘देशभर अझै ४० प्रतिशत खेत बाँझै छन्।’
असार १५ भित्रै करिब ८० प्रतिशत रोपाइँ सकिसक्नुपर्ने रेग्मीले बताए। ‘तर यस वर्ष भूकम्प र प्रतिकूल मौसमका कारण बल्ल ६० प्रतिशत रोपाइँ सकिएको छ । अझै ४० प्रतिशत खेतहरू बाँझै छन्’, उनले भने।
तथ्यांक शाखाका अनुसार यस वर्ष सबभन्दा कम रोपाइँ सप्तरी जिल्लामा भएको छ। ३५ हजार हेक्टर क्षेत्रफलमा धानखेतीयोग्य भए पनि हालसम्म पाँच हजार चार सय ९५ हेक्टर अर्थात् १५ दशमलब चार प्रतिशतमात्र रोपाइँ सकिएको छ।
सिरहामा १७ दशमलब चार प्रतिशतमात्र रोपाइँ भएको छ। धनुषा र महोत्तरीमा २०÷२० प्रतिशतमात्र रोपाइँ भएको छ। इलाममा २६ प्रतिशत रोपाइँ सकिएको छ। भूकम्प प्रभावित १४ जिल्लामा भने ४० देखि ८० प्रतिशतसम्म रोपाइँ भएको छ।
‘भूकम्पले क्षतिग्रस्त दोलखामा ७५, सिन्धुपाल्चोकमा ६५, रसुवामा ६०, रामेछापमा ७०, सिन्धुलीमा ७०, काभ्रेमा ८०, धादिङमा ५०, नुवाकोटमा ४५ र गोरखामा ४५ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ।तथ्यांक महाशाखाका अनुसार साउन पहिलो सातासम्म काठमाडौंमा ७५, ललितपुरमा ९० र भक्तपुर जिल्लामा ८० प्रतिशत रोपाइँ भएको छ।
‘सिचाइँ सुविधा हुने केही जिल्लामा भूकम्पको त्रासका कारण किसानले धानको ब्याड नै ढिला गरी राखेका थिए, रोपाइँ पनि ढिला भयो।
यस वर्ष जुम्ला जिल्लामा मात्र सतप्रतिशत रोपाइँ सकिएको छ। जुम्लामा दुई हजार नौ सय ५० हेक्टर जमिनमा धानखेती लगाइएको रेग्मीले जानकारी दिए। हिमाली र पहाडी जिल्लाको तुलनामा धान उत्पादनका हिसाबले भण्डारका रूपमा लिइने तराईका जिल्लाहरूमा कम मात्रामा रोपाइँ भएको तथ्यांकमा उल्लेख छ।
कृषि मन्त्रालयका अनुसार हिमाली जिल्लाहरूमा ७६ दशमलब एक, पहाडमा ६८ दशमलब दुई र तराईका जिल्लाहरूमा ५६ दशमलव तीन प्रतिशत जमिनमा मात्र रोपाइँ सकिएको छ।पहाडी जिल्लामा कुलोको भन्दा पनि अकासे पानीको भर पर्नुपर्ने बाध्यता र तराईमा खोला तथा नहरमा पर्याप्त पानी नहुनु तथा कृषि औजार र कृषि मजदुरको अभाव हुनुले रोपाइँ हुन नसकेको हो।
‘पानी सुविधा हुने केही जिल्लामा भूकम्पको त्रासका कारण किसानले धानको ब्याड नै ढिला गरी राखेका थिए, रोपाइँ पनि ढिला भयो’, रेग्मीले भने, ‘कतिपय स्थानमा कृषि मजदुरको अभावले पनि रोपाइँ हुन सकेको छैन, अकासे पानीको भर पर्नुपर्ने जमिन बाँझै छ।’
यस वर्ष धान उत्पादनमा कमी आउने पक्का भएको छ। अहिले नै यति नै कमी हुने पूर्वानुमान गर्न नसके पनि यस वर्ष २० देखि ४० प्रतिशतसम्म धान उत्पादनमा कमी आउने प्रक्षेपण गरिएको छ।

स्रोत : अन्नपुर्ण पोस्ट

Related posts