ताजा खबर

अरनिको राजमार्ग चाँडो खुलाउँछौं: चीन

काठमाडौं, २०७२, श्रावन ९, 
चीनले भूकम्पपछि अवरुद्ध अरनिको राजमार्ग सक्दो चाँडो खोल्न पहल गर्ने बताएको छ। चिनियाँ सहयोगमा बन्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई छिटो सुरु गर्नसमेत चिनियाँ पक्ष तयार भएको छ।
पाँचदिने नेपाल भ्रमणमा रहेका चिनियाँ सहायक वाणिज्यमन्त्री चङ सियाङ चेनले शुक्रबार प्रधानमन्त्री सुशील कोइरालासँगको भेटमा त्यस्तो बताएका हुन।नेपाल-चीन जोडने अरनिको राजमार्ग खुलाएर अवरुद्ध व्यापार र आवागमन सुचारु गर्ने चङले बताए।
‘नेपालको चाहना र आग्रहअनुसार हामी अरनिको राजमार्ग सुचारु गराउन तयार छौं’, चिनियाँ वाणिज्य सहायकमन्त्रीको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले भने। अरनिको राजमार्ग खुलाउन तिब्बतबाट प्राविधिक, सडक इन्जिनियरसहितको टोली नेपाल आउने चिनियाँ सहायकमन्त्रीको भनाइ थियो।
भूकम्पले तहसनहस पारेको तातोपानी नाका सुचारु गर्न अध्ययन भइरहेको उनले बताएका थिए।भेटमा चिनियाँ सहायकमन्त्रीले नेपालका भूकम्पपीडितको पुनर्बास, भत्किएका संरचना तथा ऐतिहासिक सम्पदाको पुनर्निर्माणमा सहयोग गर्ने बताएका थिए। ‘प्रधानमन्त्रीले नेपालको पुनर्निर्माणमा सहयोग गरेकोमा चीन सरकारलाई धन्यवाद दिनुभयो’, भट्टराईले भने।
चङले नेपालसँग सीमा जोडिएका उत्तरका जिल्लामा विद्यालय, अस्पताल बनाउने योजनासमेत सुनाए। अन्तर्राष्ट्रिय पुनर्निर्माण सम्मेलनका क्रममा वाचा गरेअनुसार नेपालको पुनर्निर्माण प्रक्रियालाई सहयोग गर्ने चिनियाँ वाणिज्य सहायकमन्त्रीले बताएका थिए।
पहिलो चरणमा चीनले पुनर्निर्माणका लागि एक अर्ब एक करोड ८८ लाख रुपैयाँ नेपाललाई उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर गरिसकेको उल्लेख गर्दै चङले सन २०१८ सम्म सहायता प्याकेज योजनाअन्तर्गत थप रकम उपलब्ध गराउने बताए।
चीनले पुनर्निर्माण सम्मेलनका क्रममा ७६ अर्ब रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो। नेपाल-चीनबीच सन १९५५ अगस्ट १ मा स्थापित कूटनीतिक सम्बन्धको ६० औं वर्षगाँठका अवसरमा विभिन्न कार्यक्रम गर्नेबारे समेत भेटमा कुराकानी भएको भट्टराईले बताए।
चीन र नेपालबीच २०१५ लाई दौत्य सम्बन्धको ६० औं वर्षगाँठका रूपमा मनाउने निर्णय भएको थियो। तर भूकम्पपछि नेपालमा परेको अप्ठयारो अवस्थाका कारण सोचेअनुसार कार्यक्रम हुन सकेका छैनन।
भेटमा नेपाल यही महिनामात्रै सांघाई कोअपरेसन अर्गनाइजेसनको ‘डाइलग पार्टनर’ बनेको विषयमा समेत कुराकानी भएको थियो। ‘नेपाललाई सांघाई कोअपरेसनको ‘डाइलग पार्टनर’ बनाएकोमा प्रधानमन्त्री कोइरालाले विशेष धन्यवाद दिनुभयो’ भट्टराईले भने।
राजमार्ग खोल्न सेनालाई जिम्मा
सरकारले भूकम्पपछि अवरुद्ध बनेको चीन-नेपाल जोडने अरनिको राजमार्ग तत्काल सुचारु गर्ने जिम्मा नेपाली सेनालाई दिएको छ। मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले जानकारी दिए।
विभिन्‍न स्थानमा पहिरो गई राजमार्ग अवरुद्ध भएको तीन महिना बितिसके पनि सञ्चालनमा आउन सकेको छैन। चिनियाँ टोली, अन्य सुरक्षा अंगहरूसमेतको समन्वयमा बाटो सुचारु गर्न यथाशीघ्र काम थाल्न सरकारले सेनालाई स्वीकृति दिने निर्णय गरेको हो।
चिनियाँ सहायक वाणिज्यमन्त्रीले नेपालले उक्त राजमार्ग खोल्न अग्रसरता लिनुपर्ने र त्यसमा एक प्राविधिक टोली पठाएर तत्काल राजमार्ग खोल्न चीन तयार रहेको बताएपछि मन्त्रिपरिषद बाटो खोल्ने जिम्मा सेनालाई दिने निर्णय गरेको हो।
अरनिको राजमार्ग सुचारु गराउने विषयमा समन्वय तथा सहजीकरण गर्न परराष्ट्रका निमित्त सचिव शंकरदास बैरागीको नेतृत्वमा रक्षा, गृह, अर्थ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सम्मिलित एक समितिसमेत गठन गर्ने निर्णय भएको मन्त्री रिजालले जानकारी दिए ।यसअघि सशस्त्र प्रहरी या नेपाली सेना कसले बाटो खोल्ने कामको नेतृत्व लिने भन्ने विषयमा विवाद थियो।
मन्त्रिपरिषद नेपाली सेनाले नै अरनिको राजमार्ग खोल्ने निर्णय गरेपछि उक्त विवाद हल भएको छ। नेपालको पाँचदिने भ्रमणमा आएका चिनियाँ सहायक वाणिज्यमन्त्री चङ सियाङ चेन नेतृत्वको एघार सदस्यीय प्रतिनिधिमण्डलले शुक्रबार अरनिको राजमार्ग र बाह्रबिसे क्षेत्रको भ्रमण गरी भूकम्पले पुर्‍याएको क्षतिबारे जानकारीसमेत लिएको छ।

स्रोत : अन्नपुर्ण पोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *