ताजा खबर

‘हे युवा’ र ‘मसान’

२०७२ श्रावन ८,

हे युवा

निर्देशक : रामराजा दाहाल

कलाकार : नीर शाह, राजबल्लभ कोइराला, सञ्चिता लुइँटेल, धीरेन शाक्य, विनोद पौडेल तथा आदित्य बुढाथोकी आदि ।

संगीत : महेश खड्का

आठ वर्षअघि नेपाली समाजमा युवाहरूमा विदेश पलायन हुने जस्तो सोच थियो, अहिलेका युवामा त्यसले अझ बलियो पकड बनाएको छ । आठ वर्षअघि हाल अमेरिका पलायन भएका नायक राजबल्लभ कोइरालालाई लिएर निर्देशक रामराजा दाहालले चलचित्र ‘हे युवा’ निर्देशन गरेका थिए । फिल्म कलेजमा चलचित्र निर्देशन विषयमा स्नातक गरेका दाहालले कलेजबाट बाहिरिनेबित्तिकै निर्देशन गरेको यो पहिलो चलचित्र थियो । निर्देशक दाहालले त्यसपछि पाँचवटा चलचित्र निर्देशन गरिसके भने चारवटा रिलिज पनि भैसके । विभिन्न कारणले चलचित्र तयार भैसकेर पनि रिलिज हुन नसकेको चलचित्र ‘हे युवा’ आज शुक्रबार ४० स्थानका चलचित्र भवनमा एकसाथ रिलिज हुँदैछ ।

युवाशक्तिलाई विदेश पठाउनुभन्दा देशकै विकासमा प्रयोग गर्नुपर्छ भन्ने विषयमा केन्द्रित चलचित्र ‘हे युवा’लाई निर्देशक दाहाल पूर्णत: व्यावसायिक चलचित्र मान्दैनन् । उनका अनुसार गीत र हल्काफुल्का द्वन्द्वका दृश्य भए पनि चलचित्रमा व्यावसायिक मसला त्यति धेरै छैनन् । भूकम्पपछि नेपाली चलचित्रको प्रदर्शनमा रिलिजमा निर्माताहरू हच्किरहेको अवस्थामा चलचित्र ‘हे युवा’ धेरै पहिले निर्माण भए पनि नयाँ चलचित्र भएकाले दर्शकले रुचाउन सक्छन्, किनभने यो चलचित्रले उठान गरेको विषय समय सान्दर्भिक छ ।

मसान

निर्देशक : निरज घेवन

कलाकार : ऋचा चढ्डा, विकी कौशल तथा सञ्जय मिश्रा आदि ।

संगीतकार : इन्डियन ओसन

यसपटकको कान्स फिल्म फेस्टिभलमा दुईवटा पुरस्कारबाट पुरस्कृत हिन्दी चलचित्र ‘मसान’को सार्वजनिक प्रदर्शन आज शुक्रबारदेखि हुँदैछ । यो चलचित्रमा बनारसको पृष्ठभूमिमा आत्मीय मित्रको हत्याको आरोप खेपिरहेकी एउटी युवती तथा आफ्नो प्रेम सफल बनाउन संघर्ष गरिरहेका एक डाक्टरको कथालाई समानान्तर रूपमा अघि बढाइएको छ । फरक धारको चलचित्र ‘मसान’मा यसकी अभिनेत्री ऋचा चढ्ढाको अभिनयको निकै प्रशंसा भएको छ । बलिउडका समीक्षकहरूको रायमा यो चलचित्रमा ‘कमर्सियल मसला’हरू नभए पनि यसले १ सय ९ मिनेट कुर्सीमा बाँधिराख्न सक्छ । गत शुक्रबार आएको सलमान खानको ‘बजरंगी भाइजान’ तथा बक्सअफिसमा कलेक्सनको कीर्तिमान बनाइरहेको दक्षिण भारतीय चलचित्र ‘बाहुबली’ले विश्वभर भारतीय चलचित्रका दर्शकहरूमा प्रभाव जमाइरहेकाले फरक धारको यो चलचित्र हेर्न दर्शकहरू हलसम्म नपुग्लान वा कतिपय थियटरमा यो चलचित्र नै रिलिज नहोला, तर जतिले हेर्छन् उनीहरूलाई यो चलचित्र पक्कै मन पर्नेछ ।

स्रोत : साप्ताहिक

Related posts