पोखरा, २०७२ साउन ८,
विप्लव नेतृत्वको नेकपा माओवादीले शुक्रवार आयोजना गरेको नेपाल बन्दले सुक्रबारको जनजिवन प्रभावित भयो । साँझ ५ बजे पछि बन्द खुलेपछि जनजिवन सामान्य तर्फ फर्किएको हो । बन्दले गर्दा कलकारखाना, उद्योग धन्दा, शैक्षिक संस्था लगायतका व्यापारीक प्रतिष्ठानमा प्रत्यक्ष प्रभाव पर्यो । लामो तथा छोटो दुरीका सवारी साधनहरु समेत संचालनमा नआउदा यात्रुहरु पैदलबाट आफ्नो गन्तव्यमा लागेका देखिन्थे ।
चिन र भारतले गरेको लिपुलेक सम्झौता, भुकम्प प्रभावितको राहत वितरणमा चरम भ्रष्टाचार एवम् घोटाला गरेको र संविधानको प्रारम्भिक मस्यौदा जनविरोधी भएको ठहर गर्दै गरेको नेपाल बन्दको आह्वान गरेको जनाएको छ ।
बन्दको अवज्ञा गरेको भन्दै भन्दै पोखरामा एउटा पर्यटक गाडीसहित ३ वटा सवारी साधनमा तोडफोड भएको छ । बन्दकर्ताले पोखरामा पृथ्वीचोकमा पर्यटक बोकेको ग.१य.६५८ नम्बरको पर्यटक गाडी, ग.१ ज. ५२२३ नम्बरको ट्याक्सी र ग.१ ज.४८०० नम्बरको ढुवानी भ्यान तोडफोड गरेका हुन् । पर्यटक गाडीलाई चलाउन छुट दिइएपनि नेपाली पनि चढेको भन्दै उनीहरुले तोडफोड गर्दा सामान्य क्षेति पुगेको छ । तोडफोड गरिएका गाडीहरुको शिसा फुटेका छन् ।
यसैबीच, मोटरसाइकल तोडफोड गर्न लागेको आरोपमा २ जना बन्दकर्तालाई प्रहरीले पोखराको महेन्द्रपुलबाट पक्राउ गरेर साँझ छाडेको छ । प्रहरीले बन्दको उलंघन गरेर चलाइरहेको मोटरसाइकल रोक्ने क्रममा विप्लव माओवादी निकट अखिल क्रान्तिकारी कास्कीका संयोजक मिलन राई र जिल्ला सदस्य प्रवल भण्डारीलाई पक्राउ गरेको थियो ।
पोखराका शैक्षिक संस्था, यातायात तथा पसलहरु विहानैदेखी बन्द रहे ।बन्दमा प्रेस, एम्बुलेन्स, मानवअधिकारका गाडी र पानीका गाडीलाई निर्वाध रुपमा चल्न दिइएको छ । तर यसअघीका बन्दमा चल्न दिइदै आएको कुटनीतिक नियोगका गाडी र पर्यटन गाडीलाई भने आजको बन्दमा चल्न दिइएन ।अन्र्तराष्ट्रिय विषयवस्तु र चासोका विषय पनि भएकाले कुटनीतिक नियोग र पर्यटन गाडी चल्न नदिइएको नेकपा माओवादीका गण्डकी इन्चार्ज सावित्री दुराले रेडियो अन्नपूर्णलाई बताउनुभयो ।
बन्दकर्ताहरु थोरै संख्यामा भएपनि पोखराका मुख्य चोकहरु पृथ्वीचोक, महेन्द्रपुल, चिप्लेढुङ्ग, हरिचोक, अमरसिंह चोक लगायतका क्षेत्रमा झण्डा लिएर बसेका थिए । बन्दकर्ताले करीब एक दर्जन सवारी साधनका चावी पनि खोसेकाथिए । अपराह्न ५ बजे बन्द खुलेपछि चावी सवारी धनीलाई प्रदान गरिने नेकपा माओवादी गण्डकी अञ्चल ईञ्चार्ज सावित्री दुराले बताईन् ।