
डब्लिन, २०७२ साउन ८ ,
अफगानिस्तानले लगातार चौथोपटक आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान सुरक्षित गरेको छ । तेस्रो प्लेअफमा पपुवान्युगिनीलाई ६ विकेटले हराउँदै अफगानिस्तानले विश्वकपको स्थान पक्का गरेको हो । हारसँगै पपुवा न्युगिनीको टी–२० विश्वकप छनोट यात्रा टुंगिएको छ । आयरल्यान्डको भिलेज मालाहिडेमा बिहीबार पहिलो ब्याटिङ गरेको पपुवान्युगिनीले २० ओभरमा ६ विकेट गुमाउँदै १२७ रनको योगफल बनायो । प्रत्युत्तरमा अफगानिस्तानले १८.२ ओभरमा चार विकेटको क्षतिमा १२८ रन जोड्यो । छनोटअन्तर्गत पहिलो प्लेअफमा अफगानिस्तान हङकङसँग पाँच विकेटले स्तब्ध भएको थियो । हारसँगै अफगानिस्तानले विश्वकप छनोटका लागि तेस्रो प्लेअफमा पपुवा न्युगिनीविरुद्ध प्रतिस्पर्धा गरेको हो ।
पपुवान्युगिनीसँग पराजित हुँदा अफगानिस्तानको विश्वकप खेल्ने सपना भताभुंग हुने थियो । नाजिबुल्लाह जद्रानले छक्का प्रहार गर्दै अफगानिस्तानलाई अर्को वर्ष भारतमा हुने विश्वकपको टिकट दिलाए । अफगानिस्तानका लागि नवरोज मंगलले सर्वाधिक ६५ रनको योगदान दिए । उनले ५६ बलमा दुई चौका र तीन छक्का प्रहार गरेका थिए । मंगलले ४३ बलमा ५० रन पूरा गरेका थिए । मंगलले अजघर स्टानिकजा, मोहमद नाबी र नाजिबुल्लाह जद्रानसँग गतिलो साझेदारी गरेका थिए । अफगानिस्तानले लक्ष्य पछ्याउँदा गतिलो सुरुवात गर्न सकेन । नोम्यान भानुआले मोहमद साहजदलाई इनिङको पहिलो बलमै आउट पारे ।
मंगलले अजघरसँग दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरे । अजघरले ३० बलमा २२ रनको योगदान दिए । उनले दुई चौका प्रहार गरे । नाबीले ११ रन जोड्दा नौ बलको सामना गरे । जद्रानले ६ बलमा १४ रन बटुले । उनले दुई छक्का प्रहार गरेका थिए । अफगानिस्तानलाई २५ बलमा २९ रन चाहिएको थियो । यसअघि पहिलो ब्याटिङ गरेको पपुवा न्युगिनीले ५५ रनमा पाँच विकेट गुमाएको थियो । बायाँहाते बलर सपुर जद्रानको घातक बलिङको सामना पपुवान्युगिनीका ब्याट्सम्यानले गर्न सकेनन् । जद्रानले चार ओभरमा ९ रन मात्र दिएर दुई विकेट हात पारे । सो इनिङमा चाल्र्स अमिनीले सर्वाधिक ३७ रन बनाए । उनले ३७ बलमा एक चौका र छक्का प्रहार गरे । नोमानले १० बलमा तीन चौका र एक छक्काको सहयोगमा २२ रनको योगदान दिए ।
स्रोत : नया पत्रिका