एजेन्सी लन्डन, २०७२ साउन ८,
जर्मन क्लब बायर्न म्युनिखले इटालियन क्लब युभेन्टसबाट अर्तुरो भिदललाई भित्र्याउने भएको छ । बायर्नले बिहीबार भिदल भित्र्याउनेबारे स्पष्ट पारेको हो । बायर्नले यो सिजन थोमस मुलरलाई नबेच्ने पनि स्पष्ट पारेको छ । बायर्नका अध्यक्ष कार्ल हेइन्ज रुमिनिग्गेले २५ वर्षीय मुलरका लागि प्रस्ताव आए पनि नबेच्ने निर्णय गरेको स्पष्ट पारे । रुमिनिग्गेले मुलरका लागि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले प्रस्ताव गरेको बताएका छन् । रुमिनिग्गेले मुलर अमूल्य खेलाडी भएकोसमेत बताए । उनले भने, ‘हामीसँग केही खेलाडी छन्, जसको कुनै मूल्य नै छैन, त्यसमध्ये मुलर पनि हुन्, मुलरलाई बेच्न हामी पागल हुनुपर्छ ।’ रुमिनिग्गेले भिदललाई भित्र्याउनेबारे अन्तिम सहमति भइसकेको बताए ।
भिदललाई बायर्नमा ल्याउन मेडिकल मात्रै बाँकी रहेको रुमिनिग्गेले बताए । उनले यसै साताको अन्त्यमा मेडिकलपछि उनी क्लबमा आबद्ध हुने बताए । बेलायती मिडियाले जनाएअनुसार बायर्नले भिदलका लागि २६ मिलियन पाउन्ड तिर्ने सहमति गरेको छ । अघिल्लो महिना मात्रै चिलीलाई कोपा अमेरिका उपाधि दिलाएका भिदल हाल बिदामा छन् । बायर्नले सक्तर डोनेस्टकबाट यसअघि नै अर्का मिडफिल्डर डउग्लस कोस्टालाई भित्र्याइसकेको छ ।
टुटगार्टका गोलरक्षक स्भेन उल्रेच र स्टुटगार्टकै पूर्वमिडफिल्डर जोसु कुमिच पनि बायर्नसँग आबद्ध भइसकेका छन् । यो सिजन बायर्नबाट कप्तान एवं मिडफिल्डर बास्टियन स्वान्सटाइगर म्यानचेस्टर युनाइटेड गइसकेका छन् । उनले प्रशिक्षक पेप ग्वार्डिओलासँग सम्झौता थप गर्ने सम्बन्धमा कुनै वार्ता नभएको पनि स्पष्ट पारे । बार्सिलोनाका पूर्वप्रशिक्षकको बायर्नसँगको सम्झौता अब एक वर्ष बाँकी छ । ग्वार्डिओला अर्काे सिजन इंग्लिस क्लब म्यानचेस्टर सिटी जाने चर्चा चलेको छ ।
रुमिनिग्गेले ग्वार्डिओलाले यसै सिजन भने बायर्न नछाड्ने स्पष्ट पारे । ‘पेपले यो सिजन क्लब छाड्नुपर्ने कुनै कारण देख्दिनँ, यदि कुनै कारण भए हामी त्यसलाई सल्ट्याउनेछौँ,’ रुमिनिग्गेले भने । यदि पेप बस्न नचाहेको अवस्थामा आफूहरूले नरोक्ने पनि उनले स्पष्ट पारे । ४४ वर्षीय ग्वार्डिओलाले आफ्नो दुई वर्षको कार्यकालमा बायर्नलाई घरेलु उपाधि दिलाइसकेका छन् । यद्यपि, च्याम्पियन्स लिगमा भने बायर्नलाई सेमिफाइनलभन्दा माथि पुर्याउन सकेका छैनन् ।
स्रोत : नया पत्रिका