ताजा खबर

बैंकको पुँजी अब २ अर्बबाट ८ अर्ब

दुई वर्षभित्र पुँजी बढाउन सकिँदैन: बैंकर
काठमाडौं, २०७२ श्रावन ८, 
नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाको पुँजी चारगुणा बढाउने निर्णय गरेको छ। राष्ट्रबैंकले बिहीबार सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार २०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकले आठ अर्ब, राष्ट्रिय स्तरको विकास बैंकले दुई अर्ब ५० करोड तथा राष्ट्रिय स्तरका फाइनान्स कम्पनीले ८० करोड रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनुपर्नेछ।
चारदेखि १० जिल्ला कार्यक्षेत्र भएका विकास बैंकले एक अर्ब २० करोड, एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएका विकास बैंकले ५० करोड र एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएका फाइनान्स कम्पनीले ४० करोड रुपैयाँ चुक्ता पुँजी सोही अवधिभित्र पुर्‍याउने निर्णयसमेत राष्ट्रबैंकले गरेको छ। अहिले वाणिज्य बैंकको चुक्ता पुँजी दुई अर्ब, राष्ट्रिय स्तरका विकास बैंकको ६४ करोड तथा फाइनान्सको २० करोड रुपैयाँ छ।
आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्रबैंकका गभर्नर चिरञ्जीवी नेपालले भने, ‘वित्तीय स्थायित्वका लागि पुँजी वृद्धि गनुपर्ने नीति लिइएको हो।’ दक्षिण एसियामा बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम पुँजी नेपालमै रहेको उल्लेख गर्दै गभर्नर नेपालले पुँजीको आकार बढी भएपछि बैंक तथा वित्तीय संस्थामा जोखिमको समस्या कम हुने बताए।
गभर्नर नेपालले बैंक तथा वित्तीय संस्था बिगार्ने र राष्ट्रबैंकले सुधार्ने जिम्मा लिन नसक्ने भन्दै समस्याग्रस्त वित्तीय संस्था विभाग गठन नहुने स्पष्ट पारे। ‘धेरै सोचेर पुँजी वृद्धिको प्रस्ताव गरिएको छ,’ उनले भने, ‘पुँजीको आधारले बैंक तथा वित्तीय संस्था बलियो नहुँदासम्म वित्तीय स्थायित्वमै समस्या हुन्छ।’
बैंक तथा वित्तीय संस्थाको पुँजी दुई वर्षभित्र बढाउने नीतिको बैंकरहरूले भने विरोध गरेका छन् । नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले पुँजी बढाउने प्रस्ताव ठीक भए पनि तोकिएको समयभित्र बढाउन नसकिने बताए। ‘दुई वर्षभित्रमा अहिलेको बैंकिङ क्षेत्रको आम्दानीका आधारमा पुँजी बढाउन सम्भव छैन’, पौडेलले भने, ‘राष्ट्रबैंकले भनेअनुसारको पुँजी बढाउन कम्तीमा पाँच वर्ष समय दिनुपर्छ।’
डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष कृष्णराज लामिछानेले राष्ट्रबैंकले तोकेका आधारमा पुँजी बढाउन नसकिने बताए। ‘राष्ट्रबैंकले भनेको प्रस्ताव कार्यान्वयन गर्न असम्भव छ,’ उनले भने, ‘६४ करोड पुँजी भएको विकास बैंकले कसरी साढे दुई अर्ब पुँजी पुर्‍याउन सक्छ? ‘
राष्ट्रबैंकले पुँजी वृद्धिका लागि कठोर निर्णय गरेपछि मर्जर तथा एक्विजेसनमा जान बैंक तथा वित्तीय संस्थालाई दबाब परेको छ। अहिले औसतमा वार्षिक १५ देखि २० प्रतिशतसम्म बैंकिङ क्षेत्रबाट वार्षिक रूपमा प्रतिफल प्राप्त भएको अवस्था छ।
आम्दानीको आधारले बोनस सेयर तथा हकप्रद सेयर जारी गर्दा पनि तोकिएको समयमा चुक्ता पुँजी पुर्‍याउन सम्भव छैन। ‘अहिलेको व्यवस्था संशोधन भएन भने मर्जरमा जानुको विकल्प छैन,’ एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका पौडेलले भने, ‘मर्जर भनेअनुसार सजिलो हुँदैन। यस्तै हकप्रद सेयर जारी गर्दा पनि सम्पत्तिको स्रोत देखाउनुपर्ने व्यवस्थाले तोकिएको मितिमा पुँजी वृद्धि गर्न सजिलो छैन।’
नेपाल वित्त कम्पनी संघका अध्यक्ष राजेन्द्रमान शाक्यले व्यावहारिक रूपमा दुई वर्षभित्र पुँजी बढाउन नसकिने बताए। ‘विगतमा पनि पुँजी बढाउन बैंक तथा वित्तीय संस्थालाई कठिन भएको थियो,’ उनले भने, ‘पुँजी बढाउन दिएको समयसीमा अन्यन्त कम भयो।’
अहिले सञ्चालनमा रहेका ३० वटा वाणिज्य बैंकको चुक्ता पुँजी ९७ अर्ब रुपैयाँ छ। राष्ट्रबैंकले लिएको नीतिअनुसार अहिलेको पुँजी संरचनामा १२ वटा वाणिज्य बैंक मात्र सञ्चालन हुन सक्छन्।
दुई वर्षभित्रमा वाणिज्य बैंकहरूले एक खर्ब ४३ अर्ब रुपैयाँ पुँजी थप्नुपर्छ। विकास बैंक र फाइनान्स कम्पनीले पनि अहिलेको पुँजी संरचनामा करिब एक खर्ब रुपैयाँ पुँजी थप्नुपर्छ। यसरी हेर्दा बैंक तथा वित्तीय संस्थाका लगानीकर्ताले आगामी दुई वर्षभित्रमा करिब दुई खर्ब ५० अर्ब रुपैयाँ लगानी थप गर्नुपर्ने हुन्छ।
अहिले सञ्चालनमा रहेका ३० वटा वाणिज्य बैंकमा कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकको मात्र पुँजी आठ अर्बभन्दा बढी छ। कृषिको नौ अर्ब ८६ करोड तथा वाणिज्य बैंकको आठ अर्ब ५८ करोड छ।
सरकारी लगानीकै नेपाल बैंकको पुँजी ६ अर्ब ६४ करोड छ। निजी लगानीमा स्थापना भएका बैंकहरूको पुँजी दुई अर्बदेखि पाँच अर्बसम्म छ। राष्ट्रबैंकले पुँजी वृद्धि गरेपछि त्यसको प्रभाव सेयर बजारमा पनि परेको छ। सेयर बजारमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको परिसूचक उकालो लागेको छ।
पुँजी वृद्धिको निर्णयले बैंक तथा वित्तीय संस्थाको प्राथमिकता बोनस सेयर भएकाले सेयर बजारमा परिसूचक बढेको हो।सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले राष्ट्रबैंकको नीतिले यस वर्ष नगद लाभांश नभएर बोनस सेयरमात्र दिन सकिने बताए। बोनस सेयरले साधारण लगानीकर्तालाई खुसी दिए पनि संस्थापकलाई फाइदा हुँदैन।

स्रोत : अन्नपुर्ण पोस्ट

Related posts