ताजा खबर

भूकम्पको मारमा खपेका जनतालाई बन्द गरेर अर्को पिडा नदेऊ

मितिः २०७२÷०४÷०८,

नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको ठुलो महत्व रहेको छ । पर्यटन क्षेत्रले रोजगारी सिर्जना गर्नेदेखि मुलुककै अर्थतन्त्र चलायमान बनाउन योगदान दिइरहेको सबैलाई अवगत भएकै हो । तर, गत बैशाख १२ गतेको भूकम्पले पर्यटन क्षेत्र हल्लियो । यसले मूलूककै अर्थतन्त्र हल्लायो । भूकम्पका कारण पर्यटन क्षेत्र पुरै शुन्य बन्यो । सबैतिर यसको मार पर्न गयो । मुलुक यतिबेला संविधान निर्माणको अन्तिम चरणमा पुगेको छ । यसले नेपाल र नेपालीको वर्षौदेखिको चाहना पुरा गर्नेमा आशावादी बनाउँदै नेपाली जनताको मुहारमा खुसीयाली ल्याउने प्रयत्न गरिरहेको छ ।

राजनीतिक दलहरु एकजुट भएर वर्षाैदेखि मुल कानुनको पखाईमा रहेका जनतालाई नयाँ संविधान दिलाएर खुसी बनाउने प्रयास गरिरहेका छन् । यो प्रयासले भूकम्पको मार खेपेका जनताले अलि राहत महसुस गरेका छन् । राजनीतिक दलबीच सहमति भएर मुलुक संविधान जारी गर्ने संघारमा पुगिरहेको बेला केहि राजनीतिक दलले फेरि ‘नेपाल बन्द’ आव्हान गरेका छन् । यसले भूकम्पबाट थिलोथिलो भएका नेपाली जनता र नेपालको अर्थतन्त्र पुन एकपटक पछाडि धकेलिन पुगेको छ । अर्थतन्त्रका लागि सबैभन्दा घातकसिद्ध प्रमाणित भएको ‘बन्द’ ले फेरि निरन्तरता पाएको छ । यहि बन्दका कारण भूकम्पको मार खेपेको पर्यटन क्षेत्र पुनः थिचिन पुगेको छ । बन्द हड्ताल लगातका नकारात्मक गतिविधिका कारण मुलुकको पर्यटन क्षेत्र बेलाबेला तङग्रिन नसकेको सबैलाई जानकारी भएकै हो ।

भूकम्पको मारमा परेका बेला केहि राजनीतिक दलले बन्द आव्हान गरेर पर्यटन क्षेत्र र सर्वसाधारण जनतालाई पुन अप्ठेरोमा पार्नु सहि राजनीति नहुन सक्छ । सर्वसाधारण नागरिकले बन्द, हड्तालको विकल्प खोज्न बारम्बार आग्रह गरिरहेको भएपनि अहिले त्यसैलाई निरन्तरता दिनुले आगामि दिनमा अर्थतन्त्र झनै अप्ठेरोमा पर्ने देखिन्छ । त्यसैले बन्द हड्ताल जस्ता विरोधका गतिविधिलाई रोकेर वार्ताद्वारा आफ्ना माग पुरा गराउने तर्फ सरोकारवालाको ध्यान जानुपर्छ भन्ने हामी सबैको ठहर छ । बन्दको विकल्प खोजेर आगामि दिनमा नेपाल र नेपालीको मुहारमा खुसीयाली ल्याउनका लागि सबैको सहयोग चाहिन्छ । भूकम्पको पीडा बिर्साउन पनि यतिबेला बन्द र हड्ताल जस्ता विरोधका कार्यक्रम रोक्नु जरुरुी थियो । तसर्थ, आगामि दिनमा कुनै पनि राजनीतिक दल वा समुहले गर्ने बन्द हड्ताल कार्यक्रम रोकेर वार्ताद्वारा आफ्ना माग पुरा गर्नेतर्फ सबैको ध्यान जान जरुरी रहेको छ ।

नेपाली नागरिकलाई निर्वाध हिडडुल गर्दै दैनिकी चलाउन दिने वातावरण बनाउनको लागि हामी सबैसँग अनुरोध गर्दछौ । बन्द हड्ताल जस्ता विरोधका कार्यक्रम रोकिए मात्र प्राकृतिक विपद्को मारमा परेका जनताले राहतको सास फेर्ने भएकोले आगामि दिनमा यस्ता विरोधका कार्यक्रम कसैले नराखिदिनुहुन हार्दिक अपिल गर्दछौ ।

                                                                                                    सोमबहादुर थापा ,अध्यक्ष पोखरा पर्यटन परिषद्, पोखरा

Related posts