काठमाडौँ , २०७२ श्रावन ७,
भूकम्पपछि नेपालको प्रमुख पर्यटकीय पदमार्ग अन्नपूर्ण क्षेत्रबारे अन्तराष्ट्रिय जगतमा नकारात्मक सन्देस प्रवाह भइरहेकाबेला पर्वतीय पर्यटकको आकर्षक गन्तब्य अन्नपूर्ण क्षेत्र सुरक्षित रहेको एक अध्ययनले देखाएको छ ।
एक अन्तराष्ट्रिय संस्थाले गरेको अध्ययनले अन्नपूर्ण क्षेत्रको ९७ प्रतिशत पदमार्ग सुरक्षित रहेको देखाएको हो । उक्त क्षेत्रका दुई किलोमिटर बाटो बाहेक अन्य गन्तब्य सुरक्षित रहेको अध्ययन प्रतिवेदनमा जनाइएको छ । अन्नपूर्ण क्षेत्रको दुई सय किलोमिटर क्षेत्रमा अध्ययन गरिएको थियो ।
नेपाल पर्यटन बोर्डमा आज आयोजित एक कार्यक्रमकाबीच पर्यटन विज्ञ डा किट मियामोटोले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भूकम्पका कारण असुरक्षित रहेको तीन प्रतिशतमा स्थानीय घर र दुई किलोमिटर बाटोमा सामान्य क्षति पुगेको छ । त्यसको पनि समयमा नै पुन निर्माण गर्न सकेको खण्डमा सहजै पर्यटक आउन सक्ने मियामोटोको भनाई छ ।
कार्यक्रममा संस्कृति पर्यटन नथा नागरिक उड्डयनमन्त्री कृपाशुर शेर्पाले आफूले पनि पर्वतीय गन्तव्यहरुको लामो अध्ययन गरेको र अन्नपूर्ण पदमार्गमा रहेका गन्तव्यको सुन्दरता नगुमेको पाएको जानकारी दिँदै दुई किलोमिटर मात्र बाटो बिग्रिएको बताउदै यसले पर्यटकको बसाई लम्बिने बताए।
अध्ययनले पनि पर्यटकीय गन्तव्य सुरक्षित रहेको देखाएकोले व्यवसायीले यस बारे जानकारी गराउन तथा नेपालमा आउने पर्यटकको बसाई बढाउने नयाँ योजना ल्याउन मन्त्री शेपाले व्यवसायीलाई आग्रह गरे ।
पर्यटन विभागका महानिर्देशक तुलसीप्रसाद गौतमले भूकम्पका कारण पर्यटकीय क्षेत्रमा ठुलो असर पारेको भन्ने स्वदेश तथा विदेशमा प्रचार–प्रसार बढेकोले स्वतन्त्र संस्था मार्फत अध्ययन गराई वास्तविक जानकारी गराउन उक्त अध्ययन सार्वजनिक गरिएको बताए ।
उनले नेपालमा पर्यतीय पर्यटकीय गन्तव्यहरुमध्ये अन्नपूर्ण र खुम्बु क्षेत्रमा बढी पर्यटक जाने गरेका कारण दुवै क्षेत्रमा अध्ययन गरिएको र खुम्बु क्षेत्रको प्रतिवेदन आगामी दुई साताभित्र सार्वजनिक गरिने जानकारी दिए ।
महानिर्देशक गौतमका अनुसार अन्नपूर्ण क्षेत्रको अध्ययनका लागि सामथ्र्य नामक संस्था र पर्यटन बोर्डको लगानी रहेको र खुम्बु क्षेत्रको अध्ययनका लागि वल्र्ड बैंकले लगानी गरेको छ ।
स्रोत : अन्नपुर्ण पोस्ट