सुन चार वर्षकै सस्तो

काठमाडौ, २०७२ श्रावण ७,

केही समयअघि लगानीकर्ताका लागि सुरक्षित लगानी मानिएको सुन चार वर्षयताकै सस्तो भएको छ । लगानीकर्ताको आकर्षण विदेशी विनिमय, सेयर बजारसँग अन्यत्र बढ्न थालेपछि विश्व बजारमा सुनको भाउ सस्तिएको हो ।

मुलुकमा एक महिनामा ४ हजार २ सय रुपैयाँले घटेर चार वर्षयताकै सस्तो भएको हो । अन्तर्राष्ट्रिय बजारमा भने पाँच वर्षयताकै सस्तोमा किनबेच भइरहेको छ ।

अमेरिकाको आर्थिक अवस्थामा आएको सुधारले डलरमा भएको मजबुती, बढ्दो ब्याजदरका कारण ठूला लगानीकर्ताहरू विदेशी विनिमय र सेयर बजारमा केन्द्रित हुन थालेका हुन् । यसले सुनप्रतिको लगानी घटाएकाले सस्तिएको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ४८ हजार रुपैयाँमा कारोबार भएको थियो । असार ६ गते प्रतितोला ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार २०६८ साउनमा सुन ४८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

२०७० असारमा पनि ४८ हजार १ सय रुपैयाँमा झरेको थियो । शाक्यका अनुसार सरकारले सुनमा भन्सार दर घटाएकाले पनि सुन सस्तिएको हो । सरकारले बजेटमार्फत प्रतिकिलो १ लाख रुपैयाँ भन्सार घटाएको छ । ‘दर दस ग्राममा १ हजार रुपैयाँ घटेको छ,’ शाक्यले भने ।

तर यसले न्यून मात्र घटाउने व्यवसायी बताउँछन् । खासगरी अन्तर्राष्ट्रिय बजारको प्रभाव यसमा परेको उनीहरूको भनाइ छ । एक महिनामै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔन्स ५० भन्दा बढी डलरले घटेको छ । अझै घट्दो क्रममा जारी छ । भारतमा प्रति दस ग्रामको २३ हजार रुपैयाँ पर्छ ।

‘अमेरिकाको फेडरल बैंकले ब्याजदर बढाएको छ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले भने, ‘ब्याजदर बढेपछि लगानीकर्ताहरू सुन बेचेर त्यतातिर तानिएका छन् ।’

डलर मजबुत हुनु, सेयर बजारमा उत्तारचढव भई पुन: बढ्नु, तेल मूल्यको उतारचढावले पनि सुन आरालो लागेको हो । सुन थप घट्ने व्यवसायीको अनुमान छ ।

‘तेल मूल्य घटेर प्रतिब्यारेल ५० डलर छ,’ पूर्वअध्यक्ष शाक्यले भने, ‘सुनको भाउ थप घट्ने सम्भावना छ ।’

भाउ आरोलो लाग्दा उपभोक्तालाई भने राहत मिल्नेछ । सुनको भाउ दैनिक घट्दै गएकाले बजार पनि तात्दै गएको व्यवसायीहरू बताउँछन् ।

महासंघका अनुसार दैनिक १५ किलो बिक्री हुँदै आएको सुन बुधबार कारोबार बढेर करिब २५ किलो पुगेको छ । राष्ट्र बैंकले कोटा दैनिक १५ किलो तोकेको छ । सजिन (लगन र चाडबाड) मा कोटा बढाएर दैनिक २० किलोसम्म निर्धारण गर्दै आएको छ । योबाहेक बाँकी माग अवैध सुनले धानिरहेको छ ।

स्रोत : कान्तिपुर

Related posts