
विराटनगर, २०७२ श्रावण ७,
सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा यसपटक कम्तीमा ३५ खेल समावेश गरिने भएको छ । मंसिर ११–१८ मा पूर्वाञ्चलमा सञ्चालन हुने प्रतियोगिताका मुख्य खेल विराटनगर, इटहरी, धरान र झापामा खेलाइने परिषदले जनाएको छ ।
प्रतियोगितामा कम्तीमा ३५ र बढीमा ४० खेललाई समावेश गर्ने तयारी गरिएको छ । यसअघिको छैटौं प्रतियोगितामा ३२ खेल समावेश थिए । पूर्वाधार निरीक्षणमा बुधबार आइपुगेका परिषद् सदस्य सचिव केशव विष्टका अनुसार खोखो, साम्बो, फेन्सिङ र सेपाक ताक्रो खेल पनि राष्ट्रिय प्रतियोगितामा समावेश हुनेछन् । प्रतियोगिताका मुख्य खेल विराटनगर, इटहरी र धरानमा खेलाइनेछ । झापामा ४, सप्तरी, सिराहा र उदयपुरमा एक–एक र पहाडी जिल्लामध्ये तेह्रथुममा एक खेल खेलाइने भएको छ ।
उनले विराटनगर, इटहरी, धरान र झापाको खेल मैदानको पनि स्थलगत निरीक्षण गरे । प्रतियोगिताको उद्घाटन विराटनगरमा र समापन धरानमा हुनेछ । फुटबल, क्रिकेट, हकी, सुटिङ, टेबलटेनिस, ब्याडमिन्टनलगायतका १२ खेल मोरङको विराटनगर, प्रस्तावित बैजनाथपुर रंगशाला, मिल्स एरिया र लक्ष्मीमार्गमा सञ्चालन गरिने जनाइएको छ ।
जिल्लास्तरीय छनोट प्रतियोगिता भदौ अन्तिम साता र क्षेत्रीय छनोट प्रतियोगिता असोज अन्तिममा आयोजना गरिने र कात्तिकभर खेलाडीको बन्द प्रशिक्षण गरिनेछ । प्रतियोगिता आयोजनाका लागि सरकारले २३ करोड बजेट छुट्याएको छ ।
स्रोत : कान्तिपुर