ताजा खबर

बार्सिलोनाको उत्साहजनक सुरुआत

पासाडेना, अमेरिका, २०७२ श्रावण ७,

लुइस स्वारेज र सर्जियो रोबर्टोको गोलले बार्सिलोनाले मंगलबार लस एन्जलस ग्यालेक्सीलाई मैत्रीपूर्ण खेलमा २–१ ले हरायो । बार्सिलोना व्यवस्थापक लुइस एनरिकेले यसलाई युरोपेली च्याम्पियनको उत्तर अमेरिका भ्रमणमा उत्साहजनक सुरुआत मानेका छन् । उरुग्वेली खेलाडी स्वारेज लिभरपुल छँदाका आफ्ना पुराना साथी स्टेभन जेरार्डमाथि हाबी रहे ।

जेरार्ड युरोप छाडेर ग्यालेक्सी आउने अर्का स्टार खेलाडी हुन् । स्वारेजले ४५ औं मिनेटमा पहिलो गोल गरेपछि रोबर्टोले ५६ औं मिनेटमा दोस्रो गोल थपे । पासाडेनाको रोज बलमा आएका ९३ हजार २ सय २६ दर्शक अगाडि बार्सिलोनाले उत्कृष्ट खेल पस्केको थियो ।

मेजर लिग सकर क्लबमा कुनै क्लबले खेलेको खेल हेर्ने दर्शक संख्याका लागि यो नयाँ कीर्तिमान हो । यद्यपि नयाँ सिजन अगाडिको अमेरिका भ्रमणमा रहेको बार्सिलोनामा अहिले अर्जेन्टिनी लियोनल मेसी र ब्राजिलका नेयमर भने छैनन् । ‘प्रि–सिजनको यो पहिलो खेल हो । हामीले खालि सात दिनको मात्र अभ्यास गरेका थियौं । यसबीच धेरै लामो यात्रा पनि तय गरेका छौं,’ एनरिकेले भने ।

उनले थपे, ‘यस्तोमा आजको नतिजालाई म सकारात्मक लिन्छु,’ एनरिकेले भने, ‘समग्रमा हाम्रा खेलाडी लयमा देखिए ।’ यस सिजन ला लिगा, कोपा डे रे र युरोपेली च्याम्पियन्स लिग उपाधिको रक्षा गर्ने अभियानमा रहने बार्सिलोनामाथि जेरार्ड तथा रोबी किनको उपस्थिति रहेको अमेरिकी टिमले दबाब सिर्जना गर्न सकेन र बार्सिलोनाको जित सहज देखियो ।

‘हाम्रा खेलाडीले जसरी खेले, त्यसमा मलाई खुसी छ । सबैभन्दा ठूलो खेलाडीले जुन उत्साहले खेले, त्यो महत्त्वपूर्ण हो,’ एनरिकेले थपे । अमेरिकी टिमका तर्फबाट ९० औं मिनेटमा टोमी मेयरले सान्त्वना गोल फर्काए । अब बार्सिलोनाले शनिबार म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ । म्यानचेस्टरले मंगलबारकै अर्को खेलमा सान जोसलाई ३–१ ले हरायो ।

अमेरिका भ्रमणमा म्यानचेस्टरको यो दोस्रो जित हो । म्यानचेस्टरका तर्फबाट जुवान माटा र मेम्फिस डेपायेले गोल गरे । दोस्रो हाफमा आन्द्रेस परेराले तेस्रो गोल थपे । ‘पहिलो हाफको खेलबाट

म सन्तुष्ट छु, तर दोस्रो हाफलाई लिएर खुसी हुने ठाउँ छैन,’ म्यानचेस्टरका व्यवस्थापक लुइस भान गालले भने, ‘खेलको अन्त्यतिर हामीले राम्रो खेल्न सकेनौं ।’

स्रोत : कान्तिपुर

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *