ताजा खबर

चन्द्रमामा मानिस पुगेकोमा अझै छ सन्देह

२०७२ श्रावन ७,

४६ वर्षअघि अर्थात् २० जुलाई १९६९ मा संयुक्त राज्य अमेरिकाले घोषणा गर्‍यो, ‘नासाले प्रक्षेपण गरेको अपोलो–११ यान तीन अन्तरिक्षयात्री बोकेर चन्द्रमामा अवतरण गरेको छ ।’ अमेरिकी अन्तरिक्षयात्री निल आर्मस्ट्रङ चन्द्रमामा पाइला राख्ने पहिलो मानव भएको पनि बताइयो । तर, ४६ वर्षपछि पनि मानव सवार अमेरिकी यान चन्द्रमामा पुगेको थियो, दुई अमेरिकी अन्तरिक्षयात्रीले पाइला टेकेका थिए भन्नेमा मानिस सन्देह व्यक्त गर्छन् ।

खासगरी रुससँग प्रतिस्पर्धा गर्न र भियतनाम युद्धबाट ध्यान मोड्न चन्द्रमा यात्राको मञ्चन गरिएको भन्ने पनि छन् । यसमा नासामै काम गरेका पूर्ववैज्ञानिक पनि छन् । कतिले यससम्बन्धी पुस्तक पनि लेखेका छन् ।

त्यसक्रममा उनीहरूले विभिन्न प्रश्न उठाएका छन् ।

१. चन्द्रमामा खिचिएको भनिएको तस्बिरमा अमेरिकी झन्डा हावामा उडिरहेको देखिन्छ । जानकारहरू तर्क गर्छन्– वायुमण्डल नभएको चन्द्रमामा यो कसरी सम्भव भयो ?

२. यो मिसनका सबै तस्बिरमा आकाशमा तारा देखिन्न । आशंका गर्नेहरू भन्छन्– सबैतिर कालैकालो देखिन्छ, ताराहरू किन देखिएनन् ?

३. अन्तरिक्षयात्रीले खिचेका तस्बिरमा देखिएको छायालाई लिएर पनि प्रश्न उठाइएको छ । तस्बिरमा अलग–अलग कोणबाट फरक–फरक आकारको छाया देखिएको छ । मानौँ, कैयौँ दिशाबाट प्रकाश दिइएको छ, जस्तो स्टुडियोमा खिचिन्छ ।

४. मानिस अन्तरिक्षयात्रीले चन्द्रमामा राखेको पाइलाको निसान यति प्रस्ट कसरी भयो भनेर पनि प्रश्न गर्छन् जब कि चन्द्रमामा न त वायुमण्डल छ न त्यहाँ वर्षा नै हुन्छ । ठोस जमिनमा कसरी यो सम्भव भयो ?

५. चन्द्रमामा खिचिएका विभिन्न मिसनका तस्बिरमा किन थरीथरीका रहस्यमय प्रकाश देखिएका छन् ?

६. सूर्यबाट निक्लिने रेडियसनले कुनै पनि मानिसलाई मारिदिन सक्छ । तर, नासाले १२ अन्तरिक्षयात्रीलाई कसरी चन्द्रमामा पुर्‍याई सुरक्षित पृथ्वीमा लिएर आयो ?

७. चन्द्रमामा सुरुमा दुईजनाले पाइला टेकेको र एकजना चन्द्रमाको कक्षमा बसेको भनिएको छ । तर, निल आर्मस्ट्रङको हेल्मेटको सिसामा अर्का यात्री देखिन्छन् । उनीहरूको तस्बिर कसले लियो ?

८. किन सन् १९७२ पछि कुनै मानिस चन्द्रमामा पुग्न सकेको छैन, जब कि त्यसयता अन्तरिक्षसम्बन्धमा नयाँ–नयाँ खोज भएको छ, प्रविधिले पनि ठूलो फड्को मारिसकेको छ ? चन्द्रमामा अमेरिकाका अन्तरिक्षयात्रीले पाइला राखेकोमा प्रश्न उठाउनेहरू यसलाई तत्कालीन रुस र अमेरिकाबीच भएको शीतयुद्धको परिणाम पनि ठान्छन् । सन् १९५७ अक्टुबर ४ मा रुसले पृथ्वीको कक्षमा ‘स्पुतनिक’ नामको यानमार्फत कृत्रिम उपग्रह पठाएको थियो । अमेरिकाका तत्कालीन राष्ट्रपति जोन एफ. केनेडीले सन् १९६२ मा ६० कै दशकमा आफूहरू चन्द्रमामा पाइला टेक्ने घोषणा गरेका थिए, जब कि त्यसवेला अमेरिकाको नासा अन्तरिक्षमा यान नै पठाउन सफल भएको थिएन । त्यसैले कैयौँ मानिस चन्द्रमामा मानिसले पाइला टेकेको दृश्य पृथ्वीकै कुनै अज्ञात स्थानमा स्टुडियो बनाएर खिचिएकोसम्म ठान्छन् । आलोचकहरू अमेरिकाका ‘एरिया–५१’ नामको सैन्य बेसमा उक्त दृश्यको सुटिङ गरिएकोसम्म दाबी गर्छन् ।

स्रोत : नया  पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *