ताजा खबर

तनबिर र यासिर फर्के

एजेन्सी कराँची, २०७२  साउन ७,

पाकिस्तानी क्रिकेट बोर्ड (पिसिबी)ले श्रीलंकाविरुद्धको दुई टी–२० क्रिकेट सिरिजका लागि लेग स्पिनर यासिर साह, फास्टबलर मोहमद इर्फान र सोहेल तनबिरलाई बोलाएको छ । चोटग्रस्त बायाँहाते फास्टबलर वाहब रियाजको स्थानमा इर्फान खेल्नेछन् । यसैगरी अर्का बायाँहाते फास्टबलर जिया उल हकको स्थानमा तनबिरले मौका पाएका छन् । गत महिना श्रीलंकाविरुद्धको टेस्ट सिरिजमा रियाज र जिया चोटग्रस्त बनेका थिए ।

पाकिस्तानको राष्ट्रिय क्रिकेट एकेडेमीले दुवै खेलाडी तत्काल फिट नभएको जनाएको छ । ‘रियाजको चोट निको भएको छैन, तत्कालै उनी टोलीमा फर्कन सक्ने अवस्थामा छैनन्,’ एकेडेमीका प्रशिक्षक रसिदले भने । श्रीलंकाविरुद्धको अभ्यास खेलमा जियाले पाकिस्तानको ए टोलीबाट प्रतिस्पर्धा गरेका थिए । उनले तीन खेलमा ६ विकेट लिए । एकदिवसीय विश्वकपमा गतिलो प्रदर्शन गर्न नसकेका इर्फान पाकिस्तानको एकदिवसीय टोलीमा छन् । तर, उनले श्रीलंकाविरुद्धको एकदिवसीय खेलमा उत्कृष्ट योगदान दिन सकेका छैनन् । सिरिजमा उनले एक विकेट मात्र हात पारेका छन् । यासिर सन् २०११ पछि टी–२० टोलीमा फर्केका हुन् । एकदिवसीय र टेस्टमा उनको प्रदर्शन स्तरीय रहेको पिसिबीले जनाएको छ । श्रीलंकाविरुद्धको तीन टेस्टमा यासिरले सर्वाधिक २४ विकेट लिएका थिए । श्रीलंकाविरुद्धकै तेस्रो एकदिवसीय खेलमा उनले २९ रन खर्चेर चार विकेट हात पारे । गत अप्रिलमा बंगलादेशविरुद्धको टी–२० सिरिजपछि तनबिर टोलीभित्र छैनन् ।

स्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *