ताजा खबर

ग्रिक प्रधानमन्त्रीले गरे विपक्षीको आलोचना

एथेन्स, २०७२ श्रावन ७,

ग्रिक प्रधानमन्त्री एलेक्सिस त्सिप्रसाले संसद्मा सरकारका सुधारका कार्यक्रमका आलोचकको आलोचना गरेका छन् । ग्रिक संसद्मा बुधबार अन्य सुधारका कार्यक्रममाथि मतदान हुनुपहिले उनले विपक्षीको कडा आलोचना गरेका हुन् । सत्तारुढ दल सिरिजा पार्टीकै नेताहरूले पनि ग्रिक सरकारका प्रस्तावको आलोचना गरेका थिए । उनीहरूलाई एलेक्सिसले जवाफ दिएका छन्, ‘मेरो हस्ताक्षर पछाडि रहेर आफूलाई सुरक्षित बनाउने प्रयास सबैभन्दा खतरानक हो ।’ युरोपेली युनियनका देशहरूले स्वीकार गरिसकेको तेस्रो बेलआउट प्याकेजबारे ऋणदातासँग सहमति गर्न ग्रिक संसद्ले नयाँ सुधारका कार्यक्रम पारित गर्नुपर्ने हुन्छ । तेस्रो बेलआउट प्याकेजका रूपमा ग्रिसले युरोपेली युनियन तथा ऋणदाताबाट ८६ बिलियन युरो पाउनेछ ।

संसद्मा यसअघि कर प्रणालीमा सुधार गर्ने, पेन्सन घटाउने, पेन्सनका लागि समयसीमा बढाउने जस्ता प्रस्ताव पारित भइसकेका छन् । त्यतिवेला पनि सरकारलाई विपक्षी सांसदहरूको सहयोग चाहिएको थियो । तर, त्सिप्रासले विपक्षी सांसदको सहयोग लिने मनसायमा नभएको बाताउँदै आएका छन् । यसअघिको सुधार कार्यक्रमबारे भएको मतदानमा सिरिजा पार्टीकै ३२ जनाले सरकारी प्रस्तावको विपक्षमा मत दिएका थिए ।

स्रोत : नया पत्रिका

Related posts