
डब्लिङ, २०७२ साउन ७,
आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेदरल्यान्ड चौथो टोलीका रूपमा छनोट भएको छ । आयरल्यान्डको डब्लिनमा मंगलबार राति नेदरल्यान्डले नामिबियालाई चार विकेटले हराउँदै विश्वकपको स्थान पक्का गरेको हो । अर्को वर्ष भारतमा हुने विश्वकपका लागि आयरल्यान्ड, स्कटल्यान्ड, हङकङ र नेदरल्यान्ड छनोट भइसकेका छन् । अब दुई टोली मात्र छनोट हुन बाँकी छ ।
अफगानिस्तान र पपुवा न्युगिनीबीचको विजेता पाँचौँ टोलीका रूपमा विश्वकपमा प्रवेश गर्नेछ । अइसिसीले एसोसिएट राष्ट्रबाट ६ टोलीको कोटा छुट्याइएको छ । दोस्रो प्लेअफमा नामिबियाले पहिलो ब्याटिङ गर्दै ६ विकेटको नोक्सानीमा १३५ रनको योगफल खडा गरेको थियो । लगातार दोस्रोपटक विश्वकप टिकट पक्का गर्ने क्रममा नेदरल्यान्डले १९.२ ओभरमा ६ विकेट गुमाएर १३७ रन बनायो । नेदरल्यान्डको जितमा ओपनर स्टेफन माइबर्गले १८ बलमा ३१ रनको योगदान दिए । उनले आफ्नो इनिङमा ६ चौका ठोकेका थिए । लक्ष्य पछ्याएको नेदरल्यान्डको सुरुवात खराब रह्यो ।
नेदरल्यान्डले इनिङको पहिलो बलमै ओपनर वेस्ली बारेसीलाई गुमाएको थियो । बेन कुपर र स्टेफनले ४.६ ओभरमा दोस्रो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । स्टेफनले आफ्नो विकेट ज्यासन डाभिडसनलाई दिए । त्यसपछि कुपरले माइकल स्वार्टसँग तेस्रो विकेटका लागि २५ रनको साझेदरी गर्दै टोलीलाई ८.२ ओभरमा ७०–३ को स्थितिमा पुर्याए । कुपरले १८ बलमा तीन चौकाको सहयोगमा १८ रन जोडेका थिए ।
स्वार्टले पिटर ब्रोरेनसँग चौथो विकेटका लागि २० रनको साझेदारी गर्दै १२.१ ओभरमा टोलीलाई ९०–४ को स्थितिमा पुर्याएका थिए । पिटरले १५ बलमा १६ रनको योगदान दिए । स्वार्टले २९ बलमा दुई चौका र एक छक्काको सहयोगमा २८ रन बटुले । म्याक ओ’डाउनले १७ बलमा १९ रन तथा रोलोफ भानडेरले १७ बलमा १८ रनको योगदान दिएपछि नेदरल्यान्ड १९.२ ओभरमा विजयी भयो । नेदरल्यान्डलाई अन्तिम पाँच ओभरमा ३२ रन मात्र चाहिएको थियो । नेदरल्यान्डका ब्याट्सम्यानले अन्तिम ओभरमा जितका लागि चार रन मात्र सीमित पारे । मुडासार बुखारीले विजयी चौका प्रहार गरेका थिए ।
ओ’डाउन र रोलोफबीच छैटौँ विकेटका लागि ३१ रनको महत्त्वपूर्ण साझेदारी भएको थियो । यसअघि पहिलो ब्याटिङ गरेको नामिबियाका लागि क्रेज विलियम्सले सर्वाधिक ४३ रनको योगदान दिएका थिए । उनले ३२ बलमा पाँच चौका र एक छक्का प्रहार गरेका थिए । नामिबियाले पहिलो दुई विकेट गुमाउँदा स्कोर बोर्डमा ५ रन मात्र चढेको थियो । मध्यक्रमका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेकै कारण नामिबियाले सय रनको योगफल कटाएको हो । सारेल बगरले २५ बलमा तीन चौकाको सहयोगमा २७ रन बनाए । निकोलासले अन्त्यतिर २३ बलमा ३७ रनको विस्फोटक इनिङ खेले । उनले तीन छक्का र एक चौका प्रहार गरेका थिए ।
नामिबियाले पाँच विकेट गुमाउँदा ८३ रन मात्र जोडेको थियो । अफगानिस्तान र हङकङबीचको खेल अनुसन्धान हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आयरल्यान्डमा जारी टी–२० विश्वकप छनोटअन्तर्गत अफगानिस्तान र हङकङबीचको खेलको अनुसन्धान गर्ने भएको छ । मंगलबार हङकङले अन्तिम बलमा अफगानिस्तानमाथि सनसनी ५ विकेटको जित दर्ता गर्दै लगातार दोस्रोपटक विश्वकपमा स्थान सुरक्षित गरेको थियो । सो खेलमा शंकास्पद रूपमा बाजी लगाएको भन्दै आइसिसीको भ्रष्टाचार तथा सुरक्षाको जिम्मेवारी हेर्ने निकाय (एसिएसयू)ले अनुसन्धान गर्न लागेको हो । एसिएसयूले बाजी लगाउने केही ठूला फार्मसँग सोधखोज गरिने जनाएको छ । एसिएसयूका अनुसार पहिलो चरणमा बेटफेयर केटिङ मार्फसँग अनुसन्धान हुनेछ ।
आइसिसीको पछिल्लो निर्णयले हङकङका समर्थकलाई दु:खी तुल्याएको छ । पहिलो प्लेअफमा हङकङसँग पराजित आफगानिस्तानको पनि विश्वकपमा छनोट हुने लक्ष्य समाप्त भइसकेको छैन । दोस्रो प्लेअफमा अफगानिस्तानले बिहीबार पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दै छ । सो खेलका विजयी टोली विश्वकपमा छनोट हुनेछ ।
स्रोत : नया पत्रिका