टेस्टमा पनि मुस्ताफिजुरको कमाल

मिरपुर, २०७२ श्रावन ६, 
बंगलादेशका फास्ट बलर मुस्ताफिजुर रहमानले टेस्ट क्रिकेटमा पनि सानदार डेब्यु गरेका छन्। उनको उत्कृष्ट प्रदर्शनमा भ्रमणकारी टोली दक्षिण अफ्रिका मंगलबार पहिलो टेस्टको पहिलो दिन दुई सय ४८ रनमा अलआउट भयो।
मुस्ताफिजुर एक्लैले चार विकेट लिए। जबैर हुसेनले तीन तथा सकिब अल हसन, महमदुल्लाह र ताइजुल इस्लामले पनि एक—एक विकेट हात पारे । एक सय ३६ रन जोड्दा एक विकेट मात्र गुमाएको दक्षिण अफ्रिका एकाएक धराशायी बनेको थियो।
मुस्ताफिजुरले एकै ओभरमा तीन विकेट लिएपछि दक्षिण अफ्रिका १७३-६ को स्थितिमा पुगेको थियो। मुस्ताफिजुरले एउटै ओभरमा हासिम अमला, क्विन्टन डे कोक र जेपी डुम्नीलाई आउट गरे।
डुम्नी र कोकले खाता खोल्न सकेनन्। मुस्ताफिजुरले अर्धशतकीय पाली खेलेका टेम्बा बावुमालाई पनि आउट गरे । टोलीका लागि सर्वाधिक योगदान गरेका बावुमाले ५४ रन जोडे।
प्रारम्भिक ब्याट्सम्यानद्वय डिन एल्गर ४७ र स्टियान भान जिलले ३४ रन जोडे। फाफ डु प्लेसिसले पनि ४८ रन बनाए । अम्लाले १३ रन जोडे । १७.६ ओभर बलिङ गरेका मुस्ताफिजुरले ६ मेडन राखेर ३७ रनमात्र खर्चिएका थिए।
 यसअघि २० वर्षीय मुस्ताफिजुरले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि सानदार डेब्यु गरेका थिए। उनले केही महिनाअघि भारतविरुद्ध पहिलो एकदिवसीय खेल्ने क्रममा पाँच विकेट लिएका थिए।
उनकै प्रदर्शनमा बंगलादेशले पहिलो पटक एकदिवसीय क्रिकेटमा भारतमाथि शृंखला जित हात पारेको थियो । टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेको थियो।
महमदुल्लाहले जिललाई आउट गरी उक्त साझेदारी तोडेका थिए। बंगलादेश र दक्षिण अफ्रिकाबीच दुई खेलको टेस्ट शृंखला सुरु भएको हो। बंगलादेश उच्च लयमा देखिएको छ। बंगलादेशले दक्षिण अफ्रिकालाई एकदिवसीय शृंखलामा हराइसकेको छ।

स्रोत : अन्नपुर्ण पोस्ट

Related posts