काठमाडौँ, २०७२ श्रावन ६,
संविधानको प्रारम्भिक मस्यौदामा जनताको सुझाव संकलनको काम सोमबार र मंगलबार सकियो। विभिन्न ठाउँमा जनताले आफ्नो रायमात्रै दिएनन् नेताहरूलाई आक्रमण गरेर आफूभित्रको असन्तुष्टि पनि व्यक्त गरे। तर जनता र नेता दुवैले रुचाउने वर्गमा परेका कलाकारको मस्यौदाप्रतिको प्रतिक्रिया कस्तो छ? उनीहरूकै शब्दमा:
नीर शाह निर्देशक-कलाकार
संविधानको मस्यौदामा चलचित्र क्षेत्र छायामा परेको छ। यसबारेमा स्पष्ट नीति उल्लेख भएको पाइन्न। मस्यौदामाथि सुझाव संकलन गर्ने काम धेरै ठाउँमा सौहार्दपूर्ण हुन सकेन।
जनताको असन्तुष्टि छताछुल्ल भएर बाहिर आइरहेका छन्। त्यसैले राजनैतिक कुराहरू राजनैतिक दलबाट नै सम्बोधन हुनुपर्छ। अहिलेको धर्मसम्बन्धी विवाद सदाकालको लागि झगडाको बीउको रूपमा रोपिन सक्छ।
त्यसैले जबर्जस्ती धर्म परिवर्तन गर्नु हुँदैन। यसलाई जनताको नैसर्गिक अधिकारको रूपमा छाड्नुपर्छ। प्रान्तको सीमांकन पनि समस्याको रूपमा उठेको छ। यसबारेमा पनि सम्बोधन हुनुपर्छ।
म अहिले चलचित्र ‘रेफ्युजी’को छायांकनको क्रममा झापा बिर्तामोडमा छु। यहाँ पनि संविधानको मस्यौदाकै विषयमा विभिन्न पार्टीका साथीहरूसँग अन्तरक्रियामै व्यस्त छु।
सरकार प्रमुख दोहोरिन नपाओस
मदनकृष्ण श्रेष्ठ, कलाकार
शिक्षकले पढाउँछन् भने इन्जिनियरले घर, सडक आदि बनाउँछन्। डाक्टरले बिरामी हेर्छन् भने पाइलटले हवाईजहाज चलाउँछन्। यसरी देश त जनताले नै चलाएका छन्।
सबै काम जनताले गरेपछि नेताको के काम? नेताको काम जनताको सुरक्षा र रोजगारीको लागि वातावरण सिर्जना गर्ने हो। उनीहरूको काम बलियो कानुन बनाउने र कानुनी राज्यको स्थापना गर्ने पनि हो।
यी सबै कुरा संविधानमै ग्यारेन्टी हुनुपर्छ। कुनै पनि राष्ट्रप्रमुख वा सरकारप्रमुख दुई अवधिभन्दा बढी बस्न नपाउने व्यवस्था हुनुपर्छ।
सरकारप्रमुखलाई जनताले नै चुन्ने व्यवस्था हुनुपर्छ। यसो गर्दा सक्षम युवा नेतृत्वले त्यो ठाउँमा पुग्ने अवसर पाउन सक्छ । सबै धर्मले उत्तिकै सम्मान पाउनुपर्छ।
हिन्दु राष्ट्र भनेर राखे पनि फरक पर्दैन। कसैले छुवाछूत गर्यो भने कडा कारबाहीको व्यवस्था गरिनुपर्छ।
यति सानो देशको लागि संघीयता जरुरी थिएन। यी कुरामा जनमत बुझ्नै पर्छ। संघीयता चाहिन्छ नै भने पनि सकेसम्म कम प्रदेश बनाइनुपर्छ।
नागरिकतालाई सहज होस
मिथिला शर्मा, अभिनेत्री
देशको संविधान निर्माणको कामलाई झारो टार्ने विषयको रूपमा लिइनु हुँदैन । कसैलाई पनि लाखापाखा नगरी संविधानमा सबै पक्षलाई समेटेर लैजानुपर्छ।
नागरिकता जस्तो संवेदनशील विषय विवादित बनेको छ। नेपालमा जन्मेको जुनसुकै शिशुले म नेपाली हुँ भन्न पाउने अधिकार सुनिश्चित गरिनुपर्छ।
नागरिकतालाई सहज बनाइनुपर्छ। एउटा बालक वा बालिका, जो भए पनि एउटा नारीकै कोखबाट जन्मने भएकाले त्यहाँ भेदभाव गर्नु हुँदैन।
हिन्दु राष्ट्रको विकल्प छैन
कोमल वली, गायिका
संविधानमा अनावश्यक धारा धेरै भएकाले यसलाई सकेसम्म छोट्याउनुपर्छ। मौलिक हकको सन्दर्भमा पनि चाहिने नचाहिने कुराहरू बढी भए । हिन्दु राष्ट्रको विकल्प नभएकाले यो कायम हुनुपर्छ।
आयोगहरू पनि अनावश्यक रूपमा बढाइए। मानवअधिकार आयोगमात्रै बनाएर त्यसैको छाता संस्थाका रूपमा अरूलाई समेटे खर्च कटौती हुन्छ जस्तो मलाई लाग्छ। पाँचवटा प्रदेश भए हामीलाई पुग्छ।
त्यसैगरी स्थानीय निकायमा वडाध्यक्ष निर्वाचित हुन नपर्ने व्यवस्था छ । यसो गर्दा गाउँ तहसम्मको स्थानीय प्रणाली प्रजातान्त्रिक हुँदैन।
महिलाको लैंगिक तथा यौनिक अधिकार भनिएको छ। लैंगिक भन्नासाथ यौनिक पनि त्यसैमा समेटिने हुनाले अनावश्यक शब्दको प्रयोग भए जस्तो लाग्यो।
नागरिकताको सवालमा पनि एउटा पुरुषले विदेशी महिलालाई विवाह गर्दा उसको सन्तानले जन्मनासाथ अंगीकृत नागरिकता पाउने, तर एउटा महिलाले विदेशी केटासँग विवाह गरे, उसको सन्तानले १५ वर्ष नेपालमा बसोबास गरेपछि मात्रै नागरिकता पाउने प्रावधान पनि त्यति मिलेन।
यसमा महिला र पुरुषको हकमा समान व्यवस्था हुनु जरुरी छ।
प्रत्यक्ष निर्वाचित कार्यकारी
नम्रता श्रेष्ठ, नायिका
देशका कार्यकारी पदमा रहने व्यक्तिलाई जनताले नै चुन्न पाउनुपर्छ भन्ने मेरो विचार छ। सरकारप्रमुखलाई हामी आफैंले भोट हालेर जिताउन पाउनुपर्छ।
यस विषयमा मैले आफ्नो फ्यान पेजमा पोस्ट पनि गरेको थिएँ। त्यहाँ आएका प्रतिक्रियाहरू हेर्दा धेरैजसो युवा यस विषयमा सकारात्मक नै भएको मैले पाएँ।
यदि हामीले सरकारप्रमुखलाई छान्न पाउँदैनौं भने हामीले भोट किन दिने त भन्ने प्रश्न पनि आउँछ। जनताले जिताएको मानिसलाई सरकारप्रमुख बनाइयो भने देश विकासमा केही सुधार आउन सक्छ कि भन्ने लाग्छ।
कलाको अवमूल्यन नगरौं
किरण मानन्धर, कलाकार
हालै जारी भएको संविधानको मस्यौदामा ललितकलाको विषयमा कतै पनि केही लेखिएको पाइएन। मस्यौदाको सुरुदेखि अन्त्यसम्मका पाना पल्टाएर हेर्दा पनि कला र कलाकारको हितमा हुने कुनै विषय समेटिएको देखिएन।
त्यहाँ उल्लेख भएको सांस्कृतिक भन्ने शब्दले निकै ठूलो अर्थ राख्ने भएकाले ललितकलाकै लागि स्पष्ट व्यवस्था गरिनुपर्छ। यो देशमा कलको क्षेत्रलाई अवमूल्यन गरिनु हुँदैन।
स्रोत :अन्नपुर्ण पोस्ट