ताजा खबर

संविधान निर्माणमा जनताको उत्साहपूर्ण सहभागिता

काठमाडौं , २०७२ श्रावन ६,
नयाँ संविधानको मस्यौदामा जनताको सुझाव संकलन गर्ने अभियान सम्पन्न भएको छ। सोमबार र मंगलबार दुई दिन मुलुकभर जनस्तरमा नयाँ संविधानका लागि सुझाव संकलन गरिएको छ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले जनताबाट सुझाव लिने महाअभियान सफलतापूर्वक सम्पन्न भएको बताए। ‘सुझाव संकलनमा जनताको उत्साहजनक सहभागिता देखिएको छ, यसले छिटो संविधान बनाउन थप उर्जा प्राप्त भएको छ, उनले भने, केही छिटफुट घटनाबाहेक अभियान सफल र शान्तिपूर्ण भएको छ। नयाँ संविधान निर्माणमा जनताको व्यापक सहभागिता देखिएको छ।’
तराई तथा पहाडका केही जिल्लामा भने सोमबार नै सुझाव लिने काम सकिएको थियो। जनमत संकलनको दोस्रो दिन मंगलबार पनि बिहानदेखि बेलुकासम्म मुलुकभर सुझाव लिने काम भयो।
नेम्वाङले सुझाव संकलनमा देखिएको व्यापक जनसहभागिताले अवरोध गर्नेहरुलाई पनि प्रकियामा सहभागी हुन सन्देश दिएका बताए। नेम्वाङले भने, ‘अवरोध तथा विरोधमा रहेका सबै पक्षहरुलाई प्रकियामा सहभागी हुन म अझै पनि आग्रह गर्छु। सबै मिलेर संविधान बनाउनुपर्छ। गुनासा र असन्तुष्टीलाई अझै पनि सम्बोधन गर्न सकिन्छ।’
जनताबाट आएका सुझावलाई गम्भीर रुपमा अध्ययन गरेर समेट्ने कोसिस हुने बताए। जनताले सुझाव दिएर संविधानमा आफ्नो स्वामित्व खोजेका छन्। त्यसलाई संविधानसभाले सम्मान गर्नेछ, उनले भने।
तराई तथा पूर्वी पहाडका केही जिल्लामा अवरोध गर्ने प्रयास भए पनि जनमत संकलन अभियान कतै पनि रोकिएन।जिल्लाका हरेक निर्वाचन क्षेत्रका विभिन्न केन्द्रमा सभासद् तथा स्थानीय नेताहरुको सहभागितामा जनतासँग खुला अन्तरक्रिया गर्ने र सुझाव लिने काम सोमबार र मंगलबार दिनभरी भयो।
केही स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेसवादी दललगायतले संविधानमा जनताको सुझाव लिने कार्यक्रमलाई बिथोल्न खोजे पनि स्थानीय जनता र सुरक्षाकर्मीले त्यसलाई असफल तुल्याएका छन्।

स्रोत : अन्नपुर्ण पोस्ट

Related posts