
दिननाथ बराल,
पोखरा, ६ साउन
पोखराको महेन्द्रपुलमा प्रधान कार्यालय रहेको सिटी डेभलपमेण्ट बैंकले यस आर्थिक बर्षमा २४ करोड १५ लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले २०७२ असार मसान्त सम्ममा ५ अर्ब ६ करोड ७३ लाख निक्षेप संकलन गरी ४ अर्ब १६ करोड २२ लाख कर्जा लगानी गर्दा उक्त संचालन मुनाफा आर्जन गर्न सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए ।
विगत आठ वर्ष देखि समय सापेक्ष प्रविधिहरुको प्रयोग गर्दै, सुरक्षित आधुनिक तथा ग्राहकमुखि बैंकिङ्ग सेवा प्रदान गरिरहेको बैंकको निष्कृय कर्जा ०.५३ प्रतिशत मात्रै रहेको अधिकारीले जनाए । उनले भने “यस बैंकको सफलताको लागि प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग गर्नुहुने बैंकका शुभचिन्तक, तथा सम्पुर्ण बैंकका कर्मचारीहरुप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको छु ।”
ग्रामीण भेगलाई प्रमुख कार्यक्षेत्र बनाई महिला, पिछडिएका बर्ग तथा युवाहरुमा लक्षित बैंकिङ्ग कार्यक्रम तथा लघुवित्त कार्यक्रम समेत संचालन गरिरहेको सिटी डेभलपमेण्ट बैंकले आगामि दिनमा नेपाल राष्ट्र बैंकका मार्ग निर्देशनहरुलाई पालाना गर्दै अझ विश्वसनिय तथा प्रभावकारी सेवा प्रदान गर्ने तथा विभिन्न सामाजिक उत्तरदायित्व बहन गर्ने भएको बैंकले जनाएको छ । स्थापना कालदेखि नै आफ्ना ग्राहक प्रतिको सेवामा समर्पित हुदै बिभिन्न बैंकिङ कार्यहरु गर्दै आइरहेको यस बैंकले प्रधान कार्यलय चिप्लेढुङ्गा सहित १७ शाखा मार्फत बैंकिङ सेवा सञ्चालन गर्दै आइरहेको छ ।
यसै बिच पोखरामै प्रधान कार्यालय रहेको राष्ट्रिय स्तरको ओम फाइनान्स कम्पनी सँग मर्ज गरि राष्ट्रिय स्तरको बिकास बैंक बन्ने लक्ष्यका साथ मर्जरको लागि समझदारी पत्रमा समेत हस्ताक्षर भैसकेको बैंकले प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।