ताजा खबर

विप्लवका कार्यकर्ताले यसरी जलाए स्कूल बस

काठमाडौं , २०७२ श्रावन ६,

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीनिकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले बुधबार बिहान काठमाडौंको कीर्तिपुरमा विद्यार्थी बोक्ने बसमा आगजनी गरेका छन् ।

विद्यार्थी लिन निस्केको मोर्डन इन्डियन स्कुलको बसमा कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुल अगाडिको सडकमा सुतलीबाट आगो लगाइएको हो ।
दुईजनाको समूहमा आएका विद्यार्थीले सुतली सल्काएर सिटमा आगो झोसेका थिए । बसमा सल्किएको आगो तत्कालै प्रहरीले नियन्त्रणमा लिएपछि ठूलो क्षति हुन पाएन ।

महानगरीय प्रहरी परिसर हनुमान ढोकाका एसपी विश्वराज पोखरेलले आगो लगाउनेहरुको खोजी भइरहेको जानकारी दिए ।

यसैबीच अखिल क्रान्तिकारीले आगजनीको जिम्मेवारी लिँदै मापदण्डविपरित विनादर्ता सञ्चालन गरिएकाले मोर्डन इन्डियन स्कुलले भारतको पाठ्यक्रममा भारतको पक्षपोषण गरेकाले आगजनी गरिएको जनाएको छ ।

मोर्डन इन्डियन स्कुलको पाठ्यक्रममा कञ्चनजंघा हिमाल भारत पर्छ भनिएको, भारतीय राष्ट्रिय झन्डालाई नेपालको भनी पढाएको, विद्यार्थीलाई भारतीय राष्ट्रगान गाउन लगाएको र वागमती, सामुदायिक वन र मन्दिरको ७० रोपनी जग्गा हडपेकाले चेतावनीस्वरुप आगजनी गरिएको क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीले जनाए ।

स्कुलमा कार्यरत कर्मचारी र शिक्षकलाई डर धम्की देखाइ जथाभावी निष्काशन गरेको, दुई दर्जन गाडी विनादर्ता चलाएको र नेपालको शिक्षा ऐन र नियमावली विपरित भारतीय पाठ्यक्रम लागू गरेको आरोप क्रान्तिकारीले लगाएको छ ।

‘भूकम्पका कारण पठनपाठन नभएको समयको समेत शुल्क फिर्ता नगरी उल्टै भारीमात्रमा शुल्क वृद्धि गरेको पाइयो’, क्रान्तिकारीले भनेको छ, ‘नेपालका कुनै निकायमा दर्ता गरेको पाइएन । सरकारलाई समेत हेपेर मनपरी गरेकाले चेतावनी दिन आगो लगाइएको हो ।’

स्रोत : अन्नपुर्ण पोस्ट

Related posts