
काठमाडौं , २०७२ श्रावन ६,
पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार बिहान वसन्तपुरको माखन गल्लीस्थित सानो पशुपति मन्दिरमा पुग्दा युवाको एउटा जमात निकै सतर्क अवस्थामा देखियो ।
भूकम्पमा ज्यान गुमाएकाहरुको शान्ति लागि आयोजित महायज्ञमा पूर्वराजा ज्ञानेन्द्र पुग्दा युवाको एक समूह फौजी शैलीमा खटिएको थियो ।
टाउकोमा राजतन्त्रको प्रतीक श्रीपेच अंकित आर वाई पी लेखिएको रातो रिबन बाँधेका उनीहरुले पूर्वराजालाई पहरा दिइरहेका थिए।राजतन्त्रको पक्षमा उनीहरुले नाराबाजी पनि गरे।
एमाले र एमाओवादीका युवाकै शैलीमा रिबन बाँधेर खटिएका उनीहरु पूर्वराजा शाहको सुरक्षामा लागि स्वतस्फूर्त रुपमा खटिएको बताए।
स्रोतका अनुसार उनीहरुलाई राजतन्त्रका पक्षधर युवा पशुपति खड्काले त्यहाँ खटाएका हुन् । उनैले श्रीपेच अंकित रिबन निधारमा बाँध्न लगाएर ती युवालाई खटाएका थिए।
‘उनीहरुले पूर्वराजा शाह उपस्थित हुने कार्यक्रममा पहिलेबाटै यस्ता गतिविधि गर्दै आएका छन्’, स्रोतले भन्यो, ‘दरबारबाट त्यस्ता गतिविधि नगर्न भन्दाभन्दै उनीहरुले विवादित गतिविधि गर्दै आएका छन् ।’
बुधबार वसन्तपुर पुगेको युवाको त्यो समूहको लागि रिबन बनाउने काम पनि पशुपति खड्काले नै गरेका हुन् । पूर्वराजा शाहका सहयोगी फणि पाठकले दरबारबाट त्यस्ता कुनै पनि युवाको समूह नखटाइएको जानकारी दिए ।
‘दरबारले युवाको समूहलाई त्यसरी परिचालन गरेको छैन’, पाठकले भने, ‘वसन्तपुरमा पनि उहाँहरु रिबन बाँधेर स्वतस्फुर्त आउनभएको हो ।’
स्रोत : अन्नपुर्ण पोस्ट