एजेन्सी, २०७२ श्रावन ६,
हाल प्रदर्शनरत बाहुबली फिल्मले बक्स अफिसमा तीन सय करोड पार गरेको छ । एसएस राजामौलीको निर्देशनमा बनेको बाहुबली दक्षिण भारतको त्यो पहिलो फिल्म हो, जसले प्रदर्शनको नौ दिनमै तीन सय तीन करोडको व्यापार गरिसकेको छ । बाहुबली भारतको अहिलेसम्मकै महँगो बजेटको फिल्म हो । दुई सय ५० करोडमा निर्माण गरिएको फिल्मको हिन्दी भर्सनले मात्रै शनिबारसम्म ५० करोड रुपैयाँ कमाइसकेको छ भने अन्य डब भर्सनले रेकर्ड नै कायम गरेको छ ।
शुक्रबार रिलिज भएको बलिउड सुपरस्टार सलमान खानको बजरंगी भाइजानले बाहुबलीको व्यापारमा रत्तिभर पनि असर नगरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यसभन्दा अघि रजनीकान्त अभिनीत दक्षिण भारतीय फिल्म एन्थिरले दुई सय ९० करोड कमाएको थियो । बाहुबलीले एन्थिरको रेकर्ड एक सातामै तोडिसकेको छ । गत जनवरीमा रिलिज भएको राजकुमार हिरानीको पिकेले प्रदर्शनको तेस्रो हप्तामा तीन सय करोड नघाएर यो वर्षको सर्वाधिक कमाउने फिल्म बनेको थियो । तर, हाल रिलिज भएको दक्षिण भारतीय बाहुबलीले एक सातामै सबै फिल्मको व्यापारिक रेकर्ड तोडिदिएको छ । फिल्मको व्यापार अझै आक्रामकै छ ।
स्रोत : नया पत्रिका