
काठमाडौ, २०७२ श्रावण ६,
नेपाली राष्ट्रिय टिमले भारतसँग भदौमा हुने मैत्रीपूर्ण खेल पुनेमा खेल्ने भएको छ। अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) ले मंगलबार आफ्नो वेबपेजमा दिएको जानकारीअनुसार पुनेस्थित बालेवादी स्टेडियममा खेल आयोजना गर्ने उल्लेख गरेको छ। १४ भदौमा हुने खेल साँझ ७:१५ मा सुरु हुनेछ। फिफा वरीयतामा १ सय ८५ औं स्थानमा रहेको नेपाल र भारत (१५६ औं) तीन वर्षयता पाँचौंपल्ट भिड्न लागेका हुन्।
नेपाल दक्षिण एसियाली महारथी भारतसँग चार महिनाअघि विश्वकप २०१८/एसियन कप २०१९ छनोटको प्रारम्भिक चरणमा पनि भिडेको थियो। गुवाहाटीमा भएको पहिलो लेगमा लिएको २–० को अग्रतासँगै जित हात पारेको भारत अहिले छनोटको समूह चरणमा प्रतिस्पर्धा गरिरहेको छ। दशरथ रंगशालामा भएको दोस्रो लेग गोलरहित सकिएपछि नेपाल प्रारम्भिक चरणबाटै बाहिरिएको थियो।
स्रोत : कान्तिपुर