गुलरिया, २०७२ श्रावण ६,
प्रधानमन्त्री सुशील कोइरालाले संविधानमाथिको सुझावमा आएको जनताको भावनाको कदर हुने बताएका छन्। लोकतन्त्र र प्रजातन्त्र ल्याउन हजारौंले रगतपसिना बगाएकाले जनभावनाअनुसारको संविधान आउनेमा विश्वस्त हुन उनले सर्वसाधारणलाई आग्रह गरे।
गुलरियाको जिविस हातामा मंगलबार आयोजित संविधान मस्यौदामाथि सुझाव संकलन कार्यक्रममा उनले विरोध गर्नेले पनि सुझाव दिन सक्ने बताए। ‘मलाई विश्वास छ, वैद्य, चन्द, राप्रपा नेपाल, मधेसवादी दलले पनि संविधान निर्माण कार्यमा सहयोग पुर्याउँछन्,’ कोइरालाले भने।
अझै विरोधका लागि विरोध गरे जनताले दिएको बलिदानको अपमान हुने उनको धारणा थियो। ‘अराजकताले जनताको बलिदान बालुवामा पानी हालेजस्तो हुने छ,’ उनले भने।
कार्यक्रम स्थलमा राप्रपा नेपाललगायत हिन्दुवादीले हिन्दु राष्ट्रको माग गर्दै प्रदर्शन गरेका थिए। उनीहरूले मस्यौदा च्यात्नुका साथै कालो झन्डा देखाएर प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो। यसैगरी मधेसवादी दलले राधाकृष्ण चोकमा प्रधानमन्त्रीलाई कालो झन्डा देखाएका थिए। सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएका थिए।
सुझाव लिएर आउनुहोस्
दाङ– प्रधानमन्त्री सुशील कोइरालाले संविधानको मस्यौदा जलाउने भन्दा सुझाव लिएर आउन विरोधी पक्षहरूलाई अनुरोध गरेका छन्। ‘यो जनताले संविधान बनाउने महत्त्वपूर्ण अवसर हो। अहिले विरोध गर्ने, जलाउने होइन। सुझाव दिने बेला हो,’ संविधानको मस्यौदामा सुझाव संकलनका क्रममा मंगलबार तुलसीपुर आएका कोइरालाले भने, ‘ऐतिहासिक अवसरलाई सबैले उपयोग गरौं। समयमै संविधान जारी हुन्छ।’
उनले विरोधी पार्टीहरूका मत सुझावका रूपमा आए संविधानमा समेट्न सकिने बताए। ‘सुझाव दिएमा हामी संविधानमा समेट्न सक्छौं। सबैका आवाज समेट्न नै हामीले सुझाव संकलन गरिरहेका छौं,’ उनले भने, ‘फरक मतलाई सुझावका रूपमा पेस गर्नुपर्यो। मस्यौदा नै च्यात्ने र जलाउनेजस्ता गलत काम गर्नुभएन।’ प्रधानमन्त्री कोइरालाले संविधानमा सुझाव दिन सबै नागरिक उत्साहित भएकाले यस्तो बेला अवरोध गर्न नहुने बताए।
विरोधी पक्षहरूलाई पनि सहमतिमा ल्याएर समयमै संविधान जारी हुने उनले बताए। ‘मधेसी तथा मोहन वैद्य नेतृत्वको माओवादीसँग समेत छलफल भइरहेको छ,’ उनले भने, ‘सबैलाई साथमा लिएर संविधान जारी हुन्छ।’ उनले जनताका सुझावहरूलाई गम्भीर रूपमा समीक्षा गरेर संविधानमा समेटिने बताए।
‘जनताले दिएका सुझावहरूको सुनुवाइ हुन्छ। हामी सबैका भावनालाई सम्मान गर्छौं,’ उनले भने, ‘संविधानलाई सबै जनताले अपनत्व महसुस गर्ने खालको बनाउन हामी तयार छौं।’ नेपाली सेनाको हेलिकप्टरबाट टरिगाउँ विमानस्थलमा ओर्लेका कोइराला मावि तुलसीपुर सेन्टरस्थित क्षेत्र नं. ४ को सुझाव संकलन कार्यक्रममा आफ्ना भनाइ राखेर फर्केका थिए।
स्रोत : कान्तिपुर