ताजा खबर

रूपन्देही दिनभर तनावग्रस्त

भैरहवा, २०७२ श्रावण ६,
मधेसी मोर्चाको अवरोधका कारण सोमबार दिनभर रूपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ र ५ नम्बरको सूर्यपुरा केन्द्रमा तनावका कारण दिनभर मस्यौदामा सुझाव संकलन प्रभावित भयो। १६ बुँदे सहमतिको विरोधमा रहेको मोर्चाले बिहानैदेखि ती केन्द्रमा विरोध प्रदर्शन जारी भए पनि संकलन रोकिएन।

तराई मधेस लोकतान्त्रिक, संघीय फोरम नेपाल, सद्भावना पार्टी र तराई मधेस सद्भावानका कार्यकर्ताले कार्यक्रम बिथोल्ने उद्देश्यले अवरोध गरेपछि सुरक्षाकर्मीसँग पटकपटक झडप भएको थियो। विरोधकर्ताले माइक खोस्ने, ढुंगा प्रहार गर्ने र होहल्ला गरेका थिए। प्रहरीले नियन्त्रण गर्न खोजेपछि तनाव भएको थियो। मुठभेड क्रममा सुरक्षाकर्मी र विरोधमा उत्रिएका मोर्चाका कार्यकर्ता गरी ३६ घाइते भएका थिए।

एसपी राजेन्द्र ढकालले आन्दोलनकारीले कार्यक्रम बिथोल्न खोज्ने र आफूहरूले अवरोध पन्छाई कार्यक्रम सञ्चालन गराउने क्रममा मुठभेडको स्थिति उत्पन्न भएको बताए। सूर्यपुरामा प्रदर्शनकारीले सर्वसाधारण र कार्यक्रम स्थलमा ढुंगा प्रहारमा गर्न थालेपछि स्थिति सामान्य पार्न २० राउन्ड अश्रुग्यास प्रहार गरिएको प्रहरीको बताएको छ। प्रदर्शनकारीले सुझाव संकलनमा खटिएका सभासदहरूको आदेशमा आफ्नो शान्तिपूर्ण आन्दोलनलाई भडकाउने नियतले प्रहरीले दमन गरेको आरोप लगाएका छन्। तराई मधेस लोकतान्त्रिक पार्टी रुपन्देहीका अध्यक्ष अजयकुमार बर्माले सुरक्षा कर्मीले लगाएको आरोप झूटा भएको भन्दै आफूहरूको विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा गरेको दाबी गरे। मोर्चाका कार्यकर्ताले धकधइमा प्रहरी बिट जलाएका थिए। उनीहरूले सभासद अब्दुल रज्जाकको विरोध गर्दै पुत्लासमेत जलाएका थिए।

धनकुटामा झडप

धनकुटा– संघीय लिम्बुवान राज्य परिषद्का कार्यकर्ताहरूले मंगलबार संविधानको सुझाव संकलन स्थलमा प्रवेश गरी कार्यक्रम केहीबेर बिथोलेका छन्। स्थानीय सामुदायिक भवनमा खचाखच भेला भएका सर्वसाधारणलाई आतंकित बनाउँदै कुर्सी प्रहार गर्न थालेपछि भागाभाग भएको थियो।

कार्यक्रमस्थलको नजिकको होटलबाट प्रहरीले ३ थान ‘पेट्रोल बम’ फेला पारेको स्रोतले जनाएको छ। कार्यक्रम सुरु भएको मध्य अवधिमा करिब ३० जनाको समूह भवनको माथिल्लो ढोकाबाट प्रवेश गरी सहभागी तथा मञ्चका सभासद र अतिथिमाथि कुर्सी प्रहार गरेका थिए।

परिषद्का केन्द्रीय उपाध्यक्ष ज्ञानबहादुर गुरुङले सुझाव दिने भन्दै बोलिरहेका बेला उक्त समूहले आक्रमण गरेको थियो। कार्यक्रमस्थलमा हेलमेट लगाएका परिषद कार्यकर्ता प्रवेश गरेका थिए। घटनामा मञ्चमा रहेका सभासद र अतिथिहरूतर्फ लक्षित गरिए पनि सुरक्षाकर्मीले जोगाएका थिए।

मञ्चमा धनकुटा क्षेत्र नं. २ का सभासद तथा वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापासहित सभासदहरू टीकाराम चेम्जोङ, उदय नेपाली श्रेष्ठ, महिम लिम्बू, अञ्जना ताम्ली, धनमाया विश्वकर्मा, मनोहरनारायण श्रेष्ठ थिए।

यसैगरी प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर, जिल्लास्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखलगायत थिए। केही अवधि बिथोलिएको सुझाव संकलन कार्य विशेष सुरक्षाका बीच पुन: सुरु भएको थियो। परिषद्का कार्यकर्तालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ।

यसक्रममा परिषद्का दुई कार्यकर्ता गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। पूर्ण खजुम र धनेन्द्र लिम्बूलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि धरानस्थित बीपी कोइराला प्रतिष्ठानमा लगिएको जनाइएको छ।

स्रोत : कान्तिपुर

Related posts