प्रधानमन्त्रीले भने ‘संविधानको घोषणा कसैले रोक्न सक्दैन

सुर्खेत,  २०७२ श्रावण ६,

मध्यपश्चिम क्षेत्रीय सदरमुकाम सुर्खेतलाई संघीय राजधानी सुनिश्चित गर्न स्थानीय स्तरमा माग गरिएको छ। प्रधानमन्त्री सुशील कोइराला उपस्थितिमा मंगलबार नागरिक अगुवाले अब बन्ने प्रदेशको राजधानी सुर्खेत बनाउन आग्रह गरे। तीनवटै निर्वाचन क्षेत्रमा आमनागरिकबाट सुझाव संकलन गर्ने काममा सहभागी सभासदले मात्र होइन, आफ्ना सुझाव दिने पूर्वसभासद र आमनागरिकले प्रदेशको केन्द्र बनाउन जोडदार माग अघि सारेका हुन्। संविधानको मस्यौदामा आमनागरिकबाट सुझाव संकलनमा उत्साहजनक सहभागिता रहेको बताउँदै प्रधानमन्त्री कोइरालाले संविधान कसैले रोक्न नसक्ने दाबी गरे।

उनले नयाँ बन्ने संविधानमा सबैका हकअधिकार समेटिने विश्वास दिलाए। ‘संविधानको मस्यौदा तपाईंहरूका हातमा आएको छ, यसमा के सुझाव दिन चाहनुहुन्छ दिनुस्,’ उनले भने, ‘नहुने माग नराख्नुस्, तर आफ्ना हकअधिकारबारे सुझाव दिनुस्।’ संकलनको अन्तिम दिन सुर्खेतको वीरेन्द्रनगर पुगेका प्रधानमन्त्री कोइरालाले नागरिकले दिएको सुझावलाई आँखामा छारो हाल्ने होइन, सुझावलाई चिन्ता र चासोसाथ गहन अध्ययन गरी संविधानमा समावेश गरिने छ।’ प्राधनमन्त्रीले बोल्दै गर्दा नाराबाजीसहित कार्यक्रममा पुगेका राप्रपा नेपालका कार्यकर्ताले हलमा ढुंगा प्रहार गरे।

ढुंगा प्रहार भएको आवाज सुनेका प्रधानमन्त्रीले भने, ‘यस्तो किन गर्नुहुन्छ? बरु तपाईंहरूको के सुझाव छ, ढुंगामुढा गर्न छोडेर आउनुहोस््।’ सुझाव संकलन गर्ने औपचारिक कार्यक्रमका सभापति एवं सभासद हृदयराम थानीले सुर्खेत अब बन्ने प्रदेशको राजधानी हुनुपर्ने आमनागरिकको आवाज भएको जानकारी गराए। उनले हिमाल, पहाड र तराई समावेश गरिएको प्रदेश बनाउन जनताले सुझाव दिएको बताए। सभासद गंगालाल तुलाधरले सुर्खेती जनताको चाहना हिमाल, पहाड र तराईसहित प्रदेश निर्माण गरी सुर्खेतलाई राजधानी बनाउनुपर्ने सुझाव जोडदार रूपमा आएको बताए। उनले सुर्खेती जनताले स्थानीय निकायको निर्वाचन छिटो गर्न पनि सुझाव दिएको जनाए।

सभासद तप्तबहादुर विष्टले कर्णाली र भेरीलाई समेटिएको प्रदेशको राजधानी सुर्खेतलाई गराउन जनताले सुझाव दिएको बताए। उनले धार्मिक स्वतन्त्रताका पक्षमा पनि जोडदार सुझाव आएका बताए।

सभासद सीता नेपालीले सुर्खेतलाई प्रदेश राजधानी र प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री हुनुपर्ने सुझाव आएको बताइन्। उनले महिला र उत्पीडित वर्गको हक संविधानमा सुरक्षित गर्न सुझाव दिएको बताइन्।पूर्वमन्त्री शिवराज जोशीले अब बन्ने प्रदेशमा भेरी कर्णालीलाई अखण्ड राखी प्रदेश राजधानी सुर्खेत बनाउन सुझाव आएको बताए। पूर्वमन्त्री यामलाल कँडेलले प्रदेश संख्या घटाउन र हिमाल, पहाड तराईसहितको प्रदेश निर्माण गरी सुर्खेतलाई राजधानी गराउने सुझाव आएको बताए।

पूर्वसभासद नरबहादुर विष्टले सीमांकन र नामांकनसहितको प्रदेश निर्माण गरी सुर्खेतलाई प्रदेश राजधानी बनाउन जनताले सुझाव दिएको बताए। उनले क्षेत्रीय विकासमा पछाडि परेको क्षेत्रलाई विकास गर्न प्रदेश निर्माण सुझाव आएको बताए।

निर्वाचन क्षेत्र स्तरीय सुझाव संकलनका क्रममा मेहेलकुना, वीरेन्द्रनगर र बाबियाचौरमा सुझाव दिने सर्वसाधारणले सुर्खेतलाई हिमाल, पहाड र तराईसहितको राजधानी हुनुपर्ने सुझाव दिए।

त्यसैगरी सामाजिक सुरक्षा भत्तामा महिला र पुरुषलाई उमेरको हद एउटै नराखी महिलाको हकमा ५५ वर्ष उमेर राखिनुपर्ने, बेरोजगारी भत्ताको सट्टा उच्च शिक्षासम्म नि:शुल्क पढाइ व्यवस्था हुनुपर्ने सुझाव दिइएको छ।

स्रोत : कान्तिपुर

Related posts