म्याड्रिड, २०७२ साउन ६,
स्पेनको क्युडियाड अन्तर्राष्ट्रिय विमानस्थल १० लाख युरोमा बिक्री भएको छ । सन् २००८ मा निर्मित क्युडियाड विमानस्थल प्रयोयविहीन भएपछि एक साताअघि सरकारले बिक्रीमा राखेको थियो । सोमबार भएको चिनियाँ कम्पनीले १० लाख युरोमा क्युडियाड विमानस्थल किनेको बिबिसीले जनाएको छ । सात वर्षअघि सात अर्ब युरो खर्चेर क्युडियाड विमानस्थल निर्माण भएको थियो । स्पेनले म्याड्रिड र बार्सिलोनापछि क्युडियाडलाई तेस्रो ठूलो विमानस्थलका रूपमा प्रयोग गर्ने योजना थियो । तर यहाँ अन्तर्राष्ट्रिय विमानको उडान सोचेअनुसार रहेन । २०१२ यता यहाँ एउटा पनि अन्तर्राष्ट्रिय विमान उडान भएको छैन ।
सरकारले क्युडियाड विमानस्थलबाट बेहोरेको घाटा कम गर्न र लागत उठाउन बिक्रीमा राखेको हो । सरकारले बढी रकम आउन भनी करोडौँ युरोबाट सुरु गर्यो । विमानस्थलको लिलामीको प्रारम्भिक बोली १० करोड युरो थियो । कुनै कम्पनीले सो रकम तिर्न तयार नभएपछि ८ करोड युरोमा झारेको थियो । त्यसपछि ४ करोड युरोको बोली लगाइएको थियो । दुई–दुईपटक बोली परिवर्तन हुँदा पनि विमानस्थल किन्न कोही अग्रसर भएनन् । चिनियाँ कम्पनी जानिज अन्तर्राष्ट्रियले १० लाख युरो तिर्दै विमानस्थल किन्न सफल भएको बिसिसीले जनाएको छ ।
चिनियाँ कम्पनी जानिजले एकैपटक बोली लगाउँदा सहभागी अन्यले चासो नै देखाएनन् । अव आफ्नो स्वामित्वमा आएपछि जानिजले क्युडियाड विमानस्थलबाट आफ्नो व्यापार बढाउनेछ । सन् २०१२ मा यहाँ पहिलो अन्तर्राष्ट्रिय विमानको उडान भरेको थियो । क्युडियाड विमानस्थल चलनचल्तीमा नआएपछि सरकारको लगानी डुबेको हो । स्पेनिस जनताले यस विमानस्थललाई ‘भूत विमानस्थल’ को नाम दिएका छन् ।
स्रोत : नया पत्रिका