ताजा खबर

ग्रिसले तिर्‍यो ६ अर्ब युरो

एथेन्स, ६ साउन 6,

ग्रिसले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) लाई ६ अर्ब युरो ऋण तिरेको छ । युरोजोनबाट तेस्रोपटक आर्थिक प्याकेज पाएको दोस्रो सातामै ग्रिसले ऋण भुक्तानी गरेको बिबिसीले उल्लेख गरेको छ । तेस्रोपटकको आर्थिक प्याकेजमा ग्रिसले ७ अर्ब युरो प्राप्त गरेको छ । युरोजोनका प्रस्तावअनुसारै ग्रिसले युरोपियन सेन्ट्रल बैंक (इसिबी) लाई ४.२ बिलियन युरो र आइएमएफलाई २.०५ बिलियन युरो ऋण तिरेको बिसिसीले जनाएको छ । आइएमएफले पनि ग्रिस सरकारद्वारा पुरानो ऋण भर्पाई गरेको बताएको छ ।

ऋण चुक्ता गर्नुअघि प्रधानमन्त्री एलेक्सिस त्सिप्रासले मंगलबार क्याबिनेट बैठक बोलाएका थिए । त्यसपछि उनले संसद्मा ऋणसम्बन्धी जानकारी दिए । ‘हामीले प्रस्तावअनुसार इसिबी र आइएमएफलाई पहिलो चरण भुक्तानी गरेका छौँ,’ प्रधानमन्त्री त्सिप्रासले भने, ‘ग्रिसको आर्थिक अवस्थाअनुसार हामी बिस्तारै ऋण दिँदै जान्छौँ ।’ प्रधानमन्त्री त्सिप्रासले बेलआउटको सर्तअनुसार कानुनी क्षेत्रका नियम परिवर्तन गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

प्रधानमन्त्री त्सिप्रासकै पार्टी सिरिजाका केही सदस्यले नियम परिवर्तनको विरोध गरेका छन् । ग्रिसका सबै बैंक सोमबार खुला भएपछि इंग्ल्यान्डको बैंकिङ क्षेत्रमा पनि सुधार आएको छ । प्रधानमन्त्री त्सिप्रसाले नै आर्थिक अवस्था सुधार नभएसम्म सबै बैंकिङ कारोबार बन्द गर्ने भनेका थिए । यता बैंक अफ इंग्ल्यान्डका गर्भनर मार्क कानेलले २००९ यताकै ब्याजदर ०.२५ प्रतिशतले बढेको जानकारी दिएका छन् । पछिल्लो ६ वर्षभित्र इंग्ल्यान्डका बैंकिङ क्षेत्रमा ०.५ प्रतिशत मात्र ब्याजदर वृद्धि भएको कानेलले बताए ।

स्रोत : नया पत्रिका

Related posts