ताजा खबर

टी–२० विश्वकप फाइनल कोलकातामा

दिल्ली, ६ साउन २०७२,

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले अर्काे वर्ष भारतमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी–२० विश्वकपका आयोजना स्थल सार्वजनिक गरेको छ । बिसिसिआईले अर्काे वर्ष ११ मार्चदेखि ३ अप्रिलसम्म सञ्चालन हुने विश्वकपका खेल भारतका विभिन्न आठ सहरमा आयोजना हुने जनाएको छ । विश्वकपका खेल कोलकाता, बेंग्लोर, चेन्नई, धर्मशाला, मोहाली, मुम्बई, नागपुर र दिल्लीमा हुने बिसिसिआईले जनाएको छ ।

फाइनल खेल कोलकाताको इडेन गार्डेनस्थित स्टेडियममा हुने भएको छ । ‘विश्वकपका खेल बेंग्लोर, चेन्नाई, धर्मशाला, मोहाली, नागपुर, दिल्ली र कोलकातामा हुनेछन्, फाइनल खेल कोलकातामा हुनेछ,’ बिसिसिआईद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बिसिसिआईले विश्वकप आयोजनाका पूर्वसर्त पूरा गर्न आठ भेन्यु तय गरिएको जनाएको छ । बिसिसिआईले विवादास्पद चेन्नाईलाई पनि विश्वकपको खेल आयोजनाको जिम्मेवारी दिएको छ ।

हालै निर्माण गरिएको चेन्नईको स्ेटडियम असुरक्षित रहेको खबर आइरहेका वेला सोही स्टेडियममा विश्वकपका खेल आयोजना हुने भएका छन् । भारतको सर्वाेच्च अदालतले समेत स्टेडियमको दर्शक बस्ने दुई भाग सुरक्षित नरहेको बताएको थियो । अदालतले ती भाग भत्काउनसमेत आदेश दिएको छ । बिसिसिआईले अहमदाबादको सरदार पटेल स्टेडियममा कुनै पनि खेल आयोजना नगर्ने भएको छ । स्टेडियममा हाल पुनर्निर्माण कार्य भइरहेकाले विश्वकपका खेल आयोजना नहुने बिसिसिआईले जनाएको छ ।

बिसिसिआईले सन् २०१३ र ०१५ को इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनल आयोजना गरेको इडेन गार्डेनलाई नै विश्वकपको फाइनल आयोजनाको जिम्मेवारी दिएको छ । इडेन गार्डेनमा हालसम्म एक मात्र टी–२० अन्तर्राष्ट्रिय खेल आयोजना भएको छ । गत ०११ को अक्टोबरमा भएको सो खेलमा इंग्ल्यान्डले भारतलाई ६ विकेटले पराजित गरेको थियो । विश्वकपका भेन्यु सार्वजनिक गर्ने कार्यक्रममा बिसिसिआईका सचिव अनुराग ठाकुरले विश्वकप आयोजनाको जिम्मेवारी पाउँदा निकै खुसी लागेको बताए ।

‘बिसिसिआई विश्वकप आयोजना गर्न पाउँदा निकै खुसी छ, यी सबै भेन्युमा ठूला प्रतियोगिता आयोजना भइसकेका छन्,’ उनले भने । उनले भेन्यु सार्वजनिक गरेसँगै तिनको तयारी पनि सुरु भएको बताए । ‘भेन्यु तोकेसँगै तिनको तयारी पनि सुरु भइसकेको छ, हामी यो विश्वकप दर्शक र सहभागी टोलीका लागि अविस्मरणीय बनाउन चाहन्छाँै,’ उनले भने । उनले विश्वकपका लागि छानिएका सबै भेन्युले विश्वस्तरको सुविधा दिने पनि दाबी गरे ।

बिसिसिआईले टी–२० विश्वकपका लागि व्यवस्थापकीय समिति पनि गठन गरेको छ । बिसिसिआईका अध्यक्ष जगमोहन दलमियाको नेतृत्वमा रहेको समितिमा सचिव ठाकुर अनुराग, अर्का सचिव अमिताभ चौधरी, कोषाध्यक्ष अनिरुध चौधरी, उपाध्यक्ष गंगा राजु, आइपिएलका अध्यक्ष राजीव शुक्ला, मुम्बई क्रिकेट संघका उपाध्यक्ष आशिष सेलर र उरिसा क्रिकेट संघका सचिव आशीर्वाद बेहेरा सदस्य छन् ।

स्रोत : नया पत्रिका

Related posts