ताजा खबर

मिचेल जिम्बावे र दक्षिण अफ्रिका नजाने

क्राइस्टचर्च, २०७२  साउन ६,

न्युजिल्यान्डका अलराउन्डर मिचेल सन्तनर जिम्बावे र दक्षिण अफ्रिकाको भ्रमणमा सहभागी नहुने भएका छन् । प्रशिक्षणका क्रममा चोटग्रस्त बनेपछि सन्तनर दुवै भ्रमणमा सहभागी नहुने भएका हुन् । उनको हातमा चोट लागेको छ । सन्तनर अनुपस्थित हुने भएपछि उनको स्थानमा अलराउन्डर जर्ज वर्कसलाई समावेश गरिने भएको छ । वर्कस गत समरमा फोर्ड ट्रोफीका उत्कृष्ट खेलाडी चुनिएका थिए । उनले ४८.९० को औसतमा ५३८ रन जोडेका थिए । उनले गत जनवरीमा क्यान्टरबरीविरुद्धको खेलमा १९४ रन प्रहार गरेका थिए । सन्तनर क्राइस्टचर्चस्थित हाई पर्फमेन्स केन्द्रमा टोलीको जिम्बावे र दक्षिण अफ्रिका भ्रमणका लागि तयारी गरिरहेका थिए । आफँैले गरेको बलिङमा फिल्डिङ गर्ने प्रयास गर्दा उनी चोटग्रस्त बनेका थिए ।

प्रशिक्षक माइक हेसनले दुई महत्त्वपूर्ण भ्रमणअघि सन्तनरलाई गुमाउनु दुर्भाग्य भएको बताएका छन् । यसैवर्ष न्युजिल्यान्डले इंग्ल्यान्डको भ्रमण गर्दा सन्तनरले उत्कृष्ट प्रदर्शन गरेका थिए । ‘सन्तनर भ्रमणअघि निकै उत्साहित थिए, हामी उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा अझ सशक्त प्रदर्शन गर्ने अपेक्षा गरिरहेका थियौँ,’ उनले भने, ‘तर यही वेला उनी चोटग्रस्त बनेका छन्, त्यसले हामीलाई पनि दु:खी तुल्याएको छ ।’ प्रशिक्षक हेसनले वर्करले टोलीमा सन्तनरको अनुपस्थितिको महसुस हुन नदिने विश्वास व्यक्त गरे ।

सन्तनरका लागि वर्कर सही परिवर्तन मानिएको छ । दुवै बायाँहाते अग्रपंक्तिका ब्याट्सम्यान हुन् भने दुवैले दायाँहाते अर्थाेडक्स स्पिन बलिङ गर्छन् । केन विलियम्सनको जिम्बावे र दक्षिण अफ्रिकामा न्युजिल्यान्ड टोलीको नेतृत्व गर्दै छन् । यसपटक नियमित कप्तान ब्रेन्डन म्याकुलमलाई आराम दिइएको छ । न्युजिल्यान्डले जिम्बावेसँग हरारेमा तीन एकदिवसीय र एक टी–२० खेल्नेछ भने दक्षिण अफ्रिकामा तीन एकदिवसीय र दुई टी–२० खेल्नेछ ।

स्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *