ताजा खबर

हङकङ लगातार विश्वकपमा

डब्लिङ, २०७२  साउन ६,

हङकङ लगातार दोस्रोपटक आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा छनोट भएको छ । स्कटल्यान्डको डब्लिङमा मंगलबार हङकङले अफगानिस्तानमाथि पाँच विकेटको रोमाञ्चक जित निकाल्दै विश्वकपमा छनोट भएको हो । अब फाइनल प्रवेशका लागि हङकङले आयोजक स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ ओभरमा १६१ रनको योगफल खडा गर्‍यो । प्रत्युत्तरमा हङकङले २० ओभरमा पाँच विकेटको क्षतिमा १६२ रन जोड्यो । दोस्रोपटक टी–२० विश्वकपको टिकट पक्का गर्न हङकङलाई अन्तिम ओभरमा १६ रन चाहिएको थियो ।

हङकङले पाँच बलको अन्तरमा दुई विकेट गुमाउँदा खेल अफगानिस्तानको पक्षमा आएको थियो । बाबर ह्यातले अन्तिम बलमा दुई रन लिँदै हङकङलाई ऐतिहासिक जित दिलाए । बाबरले नौ बलमा २० रन बनाए । हङकङका लागि मार्क च्याम्पानले विस्फोटक ब्याटिङ गरेका थिए । उनले २५ बलमा ४० रनको योगदान दिए । उनले पाँच चौका र एक छक्का प्रहार गरे । बाबरले समान एक चौका र छक्का प्रहार गरेका थिए । ओपनर जमिन अक्तिन्सनले ४७ बलमा चार चौका र दुई छक्काको सहयोगमा ४७ रन बनाए । अफगानिस्तानलाई स्तब्ध पार्न हङकङका मध्यक्रमका ब्याट्सम्यानबीच उत्कृष्ट साझेदारी भएको थियो । हङकङका लागि हसिब अमजादले २८ रन खर्चेर तीन विकेट हात पारे । अफगानिस्तानको बलिङ इनिङमा सापुर जाद्रानले ३१ रन खर्चेर दुई विकेट हात पारे । हङकङले पावरप्लेमा एक विकेट गुमाएर ३७ रन बनाएको थियो । हङकङले ७.३ ओभरमा ५० रन बनायो । हङकङले १४.६ ओभरमा सय रन कटाएको थियो ।

यसअघि पहिले ब्याटिङ गरेको अनभुवी अफगानिस्तानका लागि नवरोज मंगलले ५३ रनको योगदान दिएका थिए । मोहमद सहजाद र मंगलबीच पहिलो विकेटका लागि २७ रनको साझेदारी भएको थियो । सहजादले १३ बलमा चार चौकाको सहयोगमा २० रन बटुले । मंगलले अजघर स्टानिकाजसँग दोस्रो विकेटका लागि ५८ रनको साझेदारी गरे । अजघरले ३० बलमा २९ रन बनाए । उनले समान दुई चौका र छक्का प्रहार गरे । कप्तान मोहमद नावीले आठ बलमा १३ रन तथा साफकले नौ बलमा १५ रन बनाए । दुई वर्षअघि हङकङ छनोट प्रतियोगितामा छैटौँ स्थान रक्षा गर्दै टी–२० विश्वकपमा पहिलोपटक छनोट भएको थियो । बंगलादेशमा सम्पन्न टी–२० विश्वकपमा हङकङले बंगलादेशलाई अन्तिम प्लेअफ खेलमा निराश पारेको थियो ।

स्रोत : नया पत्रिका

Related posts